ई-मधेश न्युज
ओली–लेखक पक्राउको माग गर्दै ‘पहिला देश अभियान’को भोलि माइतिघरमा प्रदर्शन
काठमाडौं, कार्तिक १५ — ‘पहिला देश (पिपुल्स रेभुलेसन)’ अभियानले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सिडिओलाई पक्राउ नगरेको भन्दै भोलि (कार्तिक १६ गते) काठमाडौंको माइतिघरमा प्रदर्शन गर्ने घोषणा गरेको छ। शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अभियानका डा. निकोलश भूषालले जेन्जी आन्दोलनका क्रममा गोली चलाउने आदेश दिनेहरूको अनुसन्धान हुनुपर्नेमा सरकार मौन बसेको आरोप लगाए। भूषालले सुशीला कार्की नेतृत्वको जेन्जी आयोगले न्याय दिन असफल भएको दाबी गर्दै कार्कीको राजीनामा माग गरे। उनले सरकार सुशासन र भ्रष्टाचारमुक्त समाजको बाटोमा नलागेको र उल्टै अपराधीको संरक्षण गरेको बताए। अभियानका संयोजक एसपी शाहले जेन्जी, लघुवित्त, सहकारी, मिटर ब्याज र बैंक पीडित समूहले संयुक्त प्रदर्शन गर्ने जानकारी दिए। उनका अनुसार आन्दोलनको उद्देश्य भ्रष्टाचारको अन्त्य र जनताको अधिकार सुनिश्चित गर्नु हो। संरक्षक मनिराम ज्ञवालीले वर्तमान सरकार पनि ओली सरकारले जस्तै अधिनायकवादी भएको आरोप लगाउँदै संविधान परिमार्जनसभामार्फत देशलाई नयाँ दिशा दिनुपर्ने बताए। उनले वित्तीय शोषण अन्त्यका लागि विशेष वित्तीय ऐन खारेज गर्न माग गर्दै राष्ट्र बैंकलाई प्रमुख बाधक ठहर गरे। जेन्जी आन्दोलनका प्रतिनिधि रविकिरण हमालले आन्दोलन हाइज्याक भएको र सहिद–घाइतेको अपमान भएको भन्दै कार्की सरकारको विस्थापन माग गरे। अभियानले भोलिको प्रदर्शनलाई शान्तिपूर्ण तर निर्णायक बनाउने तयारी गरेको जनाएको छ।