ई-मधेश न्युज
विश्व सहरीकरण दिवस: उत्कृष्ट सहर, उत्कृष्ट जीवनको अभिव्यक्ति
विश्व सहरीकरण दिवस हरेक वर्ष अक्टोबर ३१ मा विश्वभर मनाइन्छ। सन् २०१४ मा चीनमा ‘प्रमुख सहरी रूपान्तरण’ भन्ने नाराका साथ पहिलो पटक मनाइएको यो दिवस सन् २०२५ मा बारौँ संस्करणमा पुगेको छ। अक्टोबर महिनालाई नै ‘अर्बन अक्टोबर’ भनिन्छ, जसको अन्तिम दिनलाई सहरीकरण दिवसका रूपमा मनाइन्छ। यस दिवसको मूल उद्देश्य उत्कृष्ट सहर निर्माण गर्दै “उत्कृष्ट सहर, उत्कृष्ट जीवन” भन्ने अवधारणालाई व्यवहारमा उतार्नु हो।
सहरीकरण केवल ठूला भवन र पक्की सडक निर्माणमा सीमित छैन। यो सांस्कृतिक, सामाजिक, आर्थिक र राजनीतिक विकाससँग जोडिएको समग्र रूपान्तरण हो। सहरीकरणले शिक्षा, स्वास्थ्य, यातायात, स्वच्छता र सञ्चारजस्ता पूर्वाधार विस्तार गरेर मानिसको जीवनस्तरमा सुधार ल्याउँछ।
तर, सहरीकरणसँगै भीडभाड, प्रदूषण, बेरोजगारी र असमानता जस्ता चुनौती पनि बढ्दै गएका छन्। यस कारण विश्व सहरीकरण दिवसले यी चुनौतीहरूलाई सम्बोधन गर्दै गाउँ र सहरबीच सन्तुलन र सहकार्य बढाउन जोड दिन्छ।
यस दिवसको माध्यमबाट अन्तर्राष्ट्रिय समुदायले सहरी विकासका अवसरहरू पहिचान गर्ने, सहरहरूलाई दिगो, समावेशी र वातावरणमैत्री बनाउने लक्ष्य लिएको छ। सहरलाई केवल सुविधा सम्पन्न बनाउने मात्र होइन, मानवीय मूल्य, सामाजिक न्याय र हरियालीसहितको सहर निर्माण गर्ने चेतना फैलाउने मुख्य उद्देश्य यस दिवसको रहेको छ।