ई-मधेश न्युज
मधेसका मुख्यमन्त्री सोनल २२ गते विश्वासको मतका लागि तयारीमा
ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम, १३ कार्तिक ।
मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल यही कात्तिक २२ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। सत्ता गठबन्धनमा सहभागी दलहरूको बुधबार जनकपुरमा बसेको बैठकले उक्त निर्णय गरेको हो।
कानुन अनुसार मुख्यमन्त्रीले पदभार ग्रहण गरेको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सोनल असोज २९ गते पाँच दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।
लोसपाका महासचिव परमेश्वर साह का अनुसार अहिले सोनललाई साना दुई दल—नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टी—को पनि समर्थन प्राप्त भएको छ। यससँगै मधेस प्रदेशसभामा कांग्रेस र एमालेबाहेक सबै दल सोनलको पक्षमा उभिएका छन्।
प्रदेशसभामा कांग्रेसका २२ र एमालेका २३ सांसद छन्। जनमत पार्टीका महेश यादव र नेकपा एकीकृत समाजवादीका कनिस पटेल अहिले मन्त्री रहेका छन्, तर उनीहरूको मन्त्रालय तोकिएको छैन।
साहका अनुसार सोनलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। गठबन्धनका दलबीच मन्त्रालय बाँडफाँडबारे छलफल जारी छ। प्रारम्भिक सहमति अनुसार जसपाले चार, जनमतले तीन, र माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीले दुई–दुई मन्त्रालय पाउने सम्भावना छ।
तर, जनमत पार्टीभित्रको आन्तरिक विवाद र विभाजनका कारण सोनललाई विश्वासको मतमा चुनौति पर्ने आशंका पनि गरिएको छ। मुख्यमन्त्री सोनलले भने उक्त विभाजनले सरकारलाई असर नपर्ने दाबी गरेका छन्।