ई-मधेश न्युज
उपराष्ट्रपतिद्वारा छठ महापर्व, २०८२ को शुभकामना सन्देश
लिलाकान्त यादव,
काठमाडौँ, १० कार्तिक ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठ महापर्व, २०८२ को अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। सोमबार जारी शुभकामना सन्देशमा उनले छठलाई प्रकृतिसँगको प्रगाढ प्रेम र आस्थाको प्रतीक रहेको उल्लेख गर्दै यो पर्वले सामाजिक एकता, सहिष्णुता र सद्भाव बलियो बनाउने बताए।
उपराष्ट्रपति यादवले चार दिनसम्म मनाइने यो महापर्व केवल धार्मिक अनुष्ठान नभई जैविक विविधता र सामाजिक समरसताको अनुपम संगम भएको उल्लेख गरेका छन्। उनका अनुसार छठको प्रसाद तयार गर्न विभिन्न समुदायका सामग्री प्रयोग गरिनुले जातीय सहअस्तित्व र सामूहिकताको सन्देश दिन्छ।
अस्ताउँदो र उदाउँदो सूर्यदेवको आराधनाले जीवन र प्रकृतिप्रति कृतज्ञता प्रकट गरिने बताउँदै उनले श्रद्धालुहरूले नदी, तलाउ र जलाशयमा अघ्र्य अर्पण गर्दा आस्था, पवित्रता र शुद्धताको भाव झल्काउने बताए।
उपराष्ट्रपति यादवले छठ महापर्वले नयाँ पुस्तामा परम्परा र संस्कारको निरन्तरता कायम गर्दै खराब आचरण र व्यवहार त्याग्ने प्रेरणा दिने उल्लेख गरेका छन्। सन्देशमा उनले भनेका छन्, “यो पर्वले राष्ट्रिय एकता र अखण्डतालाई बलियो बनाउँदै सम्पूर्ण नेपालीहरूबीच सद्भाव, प्रेम र मेलमिलापको बन्धनलाई सुदृढ गरोस्।”
सन्देशको अन्त्यमा उनले छठ महापर्वले देशलाई समृद्धि र समुन्नतिको बाटोतर्फ अघि बढाउन सबैमा उच्च राष्ट्रियताको भावना जागृत होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।