emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सूर्य उपासनाको महान पर्व छठ: आस्था, श्रद्धा र प्रकृतिप्रतिको कृतज्ञता

source e-Madhesh २०८२ कार्तिक १० गते , सोमबार
0
Shares
94
Views
सूर्य उपासनाको महान पर्व छठ: आस्था, श्रद्धा र प्रकृतिप्रतिको कृतज्ञता

 

हिन्दु धर्मावलम्बीका प्रमुख चाड दसैँ र तिहार सकिएसँगै देशभर अहिले छठ पर्वको रौनक छाएको छ। नेपालका तराई क्षेत्रदेखि पहाडी भूभागसम्म श्रद्धा र उल्लासका साथ मनाइने यो पर्व सूर्य उपासना र प्रकृतिप्रतिको कृतज्ञताको प्रतीक हो।
वैदिक सनातन परम्पराअनुसार सूर्यलाई जीवन र ऊर्जाको स्रोत मानिन्छ। अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अघ्र्य दिएर मनाइने यो पर्वले मानव र प्रकृतिबीचको सहअस्तित्व र पारस्परिक सम्बन्धलाई उजागर गर्छ। षष्ठी तिथिमा मनाइने भएकाले यस चाडको नाम ‘छठ’ राखिएको मानिन्छ।
चार दिनसम्म चल्ने छठ पर्वको पहिलो दिन ‘अरवा अथवा नहाय–खाय’, दोस्रो दिन ‘खरना’, तेस्रो दिन ‘सँझिया अघ्र्य’ र अन्तिम दिन ‘विहानिया अघ्र्य पारण’ गरी सम्पन्न गरिन्छ। व्रतालुहरूले नुहाएर शुद्ध भएर एक छाक मात्र खाने, माटो र गोबरले लिपेको शुद्ध स्थानमा पूजा गर्ने र नदी–तलाउ किनारमा सूर्यलाई दूध र जल अर्पण गर्ने परम्परा रहिआएको छ।
पर्वका अवसरमा तयार पारिने परिकारमा ठेकुवा, भुसुवा, फलफूल र केराका घोगा लगायतका सामग्री हुन्छन्। छठमा हिंसा, बलि वा काटमारको चलन छैन, बरु शुद्धता, संयम र भक्तिपूर्ण साधनामा आधारित हुन्छ।
महाभारतका पात्र कर्ण र द्रौपदीले पनि छठी माताको व्रत गरेर शक्ति र ऐश्वर्य प्राप्त गरेको उल्लेख छ। यस अर्थमा छठ धर्म, विज्ञान र प्रकृतिको अद्भुत संगम हो — जसले सूर्य, जल, भूमि र जीवजन्तु सबैप्रतिको सम्मान र संरक्षणको सन्देश दिन्छ।
यस वर्ष पनि छठी माताले सबैको कल्याण, शान्ति र समृद्धिको आशीर्वाद दिउन् भन्ने कामना।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार