ई-मधेश न्युज
डा. सुधा शर्मा र बब्लु गुप्ता मन्त्री पदमा शपथग्रहण, दुई सिफारिस फिर्ता
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०९ कात्तिक ।
नवनियुक्त दुई मन्त्रीले आज राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई पद तथा गोपनीयताको शपथ दिलाए।
प्रधानमन्त्री सुशीला कार्कीले यसअघि गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनारलाई पनि मन्त्रीमा सिफारिस गरेकी थिइन्। तर जिल्ला अदालतदेखि सर्वोच्चसम्म मुद्दा विचाराधीन रहेको सार्वजनिक भएपछि खगेन्द्र सुनारको नाम अन्तिम क्षणमा फिर्ता लिइएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका रूपमा सिफारिस भएका सुनारको स्थानमा नयाँ नाम तय नभएको बताइएको छ। त्यस्तै, भूमि व्यवस्था तथा सहकारीमन्त्रीका रूपमा सिफारिस गरिएका गणपतिलाल श्रेष्ठले पर्यटन मन्त्रालयको चाहना राखेका कारण उनको नाम पनि फिर्ता गरिएको स्रोतको भनाइ छ।
यससँगै प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तार आंशिक रूपमा सम्पन्न भएको छ।