ई-मधेश न्युज
निर्वाचन तयारीमा सरकार सक्रिय, अराजक गतिविधिप्रति गृह मन्त्रालयको चेतावनी
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०८ कात्तिक ।
जेन–जी पुस्ताको आन्दोलनपछि गठन भएको वर्तमान सरकारले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सक्रिय पहल गरिरहेको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचनसम्बन्धी कानूनी संशोधन, स्रोत–साधनको व्यवस्था तथा राजनीतिक दल र सरोकारवालासँग संवाद भइरहेकाले निर्वाचन तयारी सुचारु रूपमा अघि बढिरहेको उल्लेख गरिएको छ।
त्यसै क्रममा, हाल सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति वा समूहका नाममा धर्ना, विरोध र प्रदर्शनका कार्यक्रम सार्वजनिक भइरहेका घटनाप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ। विज्ञप्तिमा स्वार्थ समूहहरूले यस्ता कार्यक्रमको आडमा देशमा अस्थिरता र अराजकता फैलाउने प्रयास गर्न सक्ने चेतावनी दिइएको छ।
गृह मन्त्रालयले जनताको शान्तिपूर्वक बाँच्न पाउने, सार्वजनिक सेवा प्राप्त गर्ने र निर्वाचनमा भाग लिन पाउने अधिकार सुनिश्चित गर्न सबैलाई जिम्मेवार रहन आग्रह गरेको छ। साथै, कुनै पनि समस्या वार्ता र संवादमार्फत समाधान गर्न सबै पक्षलाई अनुरोध गर्दै मन्त्रालयले साम्प्रदायिक सद्भाव र राष्ट्रिय एकता जोगाउन आह्वान गरेको छ।