ई-मधेश न्युज
नेपाल संवत् ११४६ को उपलक्ष्यमा उपराष्ट्रपति यादवको शुभकामना सन्देश
लिलाकान्त यादव,
काठमाडौं, ०५ कार्तिक ।
नेपाल संवत् ११४६ को आरम्भको अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
उपराष्ट्रपति यादवले बुधबार जारी शुभकामना सन्देशमा नयाँ वर्षले सबै नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिका ऊर्जा भरिदिओस् भन्ने कामना गर्दै नेपाल संवत्को प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ।
सन्देशमा भनिएको छ, “शंखधर साख्वाले किसान र गरीब जनतालाई ऋणमुक्त गरी स्वाभिमानपूर्वक बाँच्न पाउने वातावरण सिर्जना गर्नुभएको योगदान सदैव प्रेरणादायी रहिरहनेछ।”
उहाँले नेपाल संवत् केवल काठमाडौँ उपत्यकाको नयाँ बहीखाता परम्परासँग सम्बन्धित नभई सिङ्गो नेपाली समाजमा सहिष्णुता, मेलमिलाप र भाइचाराको प्रतीक रहेको उल्लेख गर्नुभएको छ।
“यो संवत् हाम्रो विविधतामा एकताको पहिचान हो, जसले सम्पूर्ण नेपालीबीच परस्पर अपनत्व, सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्छ,” उहाँले भन्नुभएको छ।
उपराष्ट्रपति यादवले शंखधर साख्वाको सत्कर्म, सत्यनिष्ठा र परोपकारी भावनाबाट प्रेरणा लिएर मुलुक निर्माणमा सबै नेपाली एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ।
सन्देशमा उहाँले थप गर्नुभएको छ, “नेपाल संवत् ११४६ ले हामी सबैलाई राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको सुदृढीकरणमा एकाग्र भई समृद्ध नेपाल निर्माणको यात्रामा अघि बढ्न प्रेरणा देओस्।”
नेपाल संवत्, नेपालको मौलिक संवत् प्रणाली हो, जसको प्रवर्तक शंखधर साख्वाले जनकल्याणका लागि नयाँ युगको सुरुवात गर्नुभएको थियो।
उपराष्ट्रपति यादवले अन्त्यमा समस्त देशवासीलाई यो राष्ट्रिय संवत्को नयाँ वर्षले शान्ति, एकता र समृद्धिको नयाँ अध्याय सुरू गराओस् भन्ने कामना गर्दै सबैमा शुभेच्छा प्रकट गर्नुभएको छ।