ई-मधेश न्युज
उपराष्ट्रपतिको शुभकामना सन्देश: विश्व हात धुने दिवस २०२५ को अवसरमा स्वच्छता र स्वास्थ्यप्रति सचेत बनौं
लिलाकान्त यादव,
काठमाडौं, २८ असोज ।
प्रत्येक वर्ष अक्टोबर १५ का दिन विश्वभर “विश्व हात धुने दिवस” मनाइन्छ। स्वच्छता र स्वास्थ्यप्रति सचेतना जगाउने उद्देश्यसहित यो दिवसले साबुन र पानीले हात धुनु कति महत्वपूर्ण अभ्यास हो भन्ने सन्देश दिन्छ।
यस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई स्वच्छ, सुरक्षित र स्वस्थ जीवनका लागि उपराष्ट्रपति रामसहाय यादवले हार्दिक शुभकामना व्यक्त गरेका छन्।
उपराष्ट्रपति यादवले हात धुनु हैजा, डायरिया, रुघाखोकी, निमोनिया जस्ता संक्रमणजन्य रोगहरूबाट जोगिन अत्यन्तै सरल, सस्तो र प्रभावकारी उपाय भएको उल्लेख गर्दै सबैलाई नियमित रूपमा साबुन र पानी प्रयोग गरी कम्तीमा २० सेकेन्डसम्म हात सफा गर्न आह्वान गरेका छन्।
उनले खाना पकाउने र खानुअघि, शौचालय प्रयोगपछि, हाछ्युँ वा खोक्दा र नाक छोएपछि हात धुनुको बानीले स्वास्थ्य सुरक्षामा ठूलो योगदान पु¥याउने बताए।
स्वच्छता नै स्वास्थ्यको आधार भएको उल्लेख गर्दै उनले भने, “हामी सबैले हात धुनुलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउँदा मात्र यो दिवसको सार्थकता सिद्ध हुनेछ।”
उपराष्ट्रपति यादवले आजकै दिनदेखि स्वच्छता र स्वास्थ्यप्रति प्रतिबद्ध रहँदै नियमित हात धुने बानीलाई जीवनशैली बनाउने र स्वस्थ समाज निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न सबैलाई आग्रह गरेका छन्।