ई-मधेश न्युज
सप्तरीमा मोटरसाइकल चोरीमा संलग्न सात जना पक्राउ, चार मोटरसाइकलसहित बरामद
लिलाकान्त यादव,
राजविराज, २७ असोज ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले मोटरसाइकल चोरीमा संलग्न सात जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट चार वटा चोरीका मोटरसाइकल बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार गत असोज १० गते बिहान करिब ४ः३० बजे तिलाठी कोईलाडी गाउँपालिका–८ का ललन कुमार दासले तोपा बजारस्थित विद्यालयको गेट अगाडि पार्किङ गरी राखेको सुपर स्प्लेण्डर (स.२ प. ८६५९) मोटरसाइकल चोरी भएको भन्दै उजुरी दिएका थिए। उजुरीपछि प्रहरी टोलीले विभिन्न स्थानमा खोजतलास सुरु गरेको थियो।
प्रहरी नायब उपरीक्षक (डीएसपी) डम्बर बहादुर पुरीको कमाण्डमा खटिएको टोलीले खोजतलासका क्रममा चोरीमा संलग्न सात जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूबाट चार वटा मोटरसाइकल बरामद गरेको जनाएको छ।
पक्राउ परेकाहरूमा राजविराज–१५, खाडोपुलका अनिल कुमार यादव, सोही स्थानका राज नारायण यादव, सचिन यादव, गजेन्द्र कुमार यादव राजविराज–११ का अजय कुमार यादव, राजविराज–१० का शिवनन्दन यादव र उदयपुर, बेलका नगरपालिका–९ का गणेश बहादुर विश्वकर्मा रहेका छन्।
प्रहरीले उनीहरूविरुद्ध चोरी मुद्दा दर्ता गरी जिल्ला अदालत सप्तरीबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ।
प्रहरीका अनुसार अन्य संलग्न व्यक्तिहरुको खोजी र चोरीका घटनामा संलग्न सञ्जालबारे थप अनुसन्धान जारी छ।