ई-मधेश न्युज
प्रकोप रोकथाममा लगानी गरौँ : सहनशील समुदाय बनाऔँ
विश्व समुदायले हरेक वर्ष अक्टोबर १३ तारिखमा अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस (International Day for Disaster Risk Reduction) मनाउँदै आएको छ। यस वर्ष २०२५ को नारासहित — “Fund Resilience, Not Disasters” अर्थात् “विपद्पछि मात्र खर्च गर्नुको सट्टा रोकथाम र तयारीमा लगानी गरौँ” — विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रमहरू आयोजित भइरहेका छन्।
संयुक्त राष्ट्रसंघले सन् १९८९ मा यस दिवसको सुरुवात प्राकृतिक विपत्तिबाट हुने मानवीय, भौतिक र आर्थिक क्षति घटाउने उद्देश्यले गरेको थियो। दिवसले समुदाय, राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा प्रकोपपूर्व तयारी र सहनशीलता अभिवृद्धिमा जोड दिन्छ।
नेपाल जस्तो भौगोलिक रूपमा विविध र जटिल भू–परिस्थितिमा रहेको देशका लागि यस्तो दिवस विशेष महत्त्वपूर्ण मानिन्छ। पहाड, तराई र हिमालबीचको छोटो दूरीमै हावापानी, माटो र भौगोलिक बनोटमा देखिने फरकपनले नेपाललाई बाढी, पहिरो, भुईँचालोजस्ता प्राकृतिक विपत्तिको उच्च जोखिममा राखेको छ।
विशेषज्ञहरूका अनुसार प्राकृतिक प्रकोप पूर्ण रूपमा रोक्न नसकिए पनि पूर्वतयारी र सतर्कतामार्फत क्षति न्यूनीकरण गर्न सकिन्छ। तर नेपालमा प्रकोप व्यवस्थापनका व्यवहारिक ज्ञान, सीप र पूर्वतयारी अझै अपर्याप्त छन्। पाठ्यक्रममा व्यवहारिक अभ्यास नहुनु, अव्यवहारिक सूचना र कमजोर पूर्वाधारका कारण विपत्तिको जोखिम अझै उच्च रहेको उनीहरूको भनाइ छ।
सन् २०७२ को भूकम्पपछि देखिएका समस्याले नेपालको प्रकोप व्यवस्थापन संरचनामा सुधारको आवश्यकता स्पष्ट पारेको छ। त्यसयता विभिन्न सरकारी र गैरसरकारी संस्थाहरू सक्रिय भए पनि समन्वय र दीर्घकालीन रणनीतिमा कमजोरी देखिएको छ।
विशेषज्ञहरूले अबको प्राथमिकता पूर्वतयारीमा लगानी गर्ने, स्थानीय तहमा क्षमता अभिवृद्धि गर्ने र माटो सुहाउँदो प्रविधि अपनाउने हुनुपर्ने सुझाव दिएका छन्।
अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवसका अवसरमा नेपाल सरकार, स्थानीय निकाय, रेडक्रस, र अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूले जनचेतनामूलक कार्यक्रम, अभ्यास र गोष्ठीहरू आयोजना गरिरहेका छन्। दिवसको सन्देश स्पष्ट छ — विपद् आएपछि खर्च होइन, रोकथाम र तयारीमै लगानी गरौँ।