ई-मधेश न्युज
जेन्जी शहीद परिवारद्वारा सरकारसँग ३ मन्त्रालयको माग, ७ दिनभित्र माग सम्बोधन नभए आन्दोलनको चेतावनी
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौँ, २३ असोज ।
जेन्जी शहीद परिवार संघर्ष समितिले सरकारले आफूहरूलाई बेवास्ता गरेको भन्दै तीन मन्त्रालयको माग गरेको छ। समितिले बिहीबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी खबरदारीका लागि भए पनि शहीद परिवारको प्रतिनिधित्व क्याबिनेटमा आवश्यक भएको बताएको हो।
सहिद श्रीयाम चौलागाईका पिता गणेश चौलागाईले प्रधानमन्त्री सुशीला कार्कीदेखि विभिन्न जेन्जी समूहले समेत सहिद परिवारलाई वास्ता नगरेको भन्दै आक्रोश व्यक्त गरे। उनले पटक–पटक ज्ञापनपत्र बुझाउँदा पनि सरकारबाट कुनै प्रतिक्रिया नआएको भन्दै “शहीदको रगतबाट बनेको सरकारले हामीलाई नै वेवास्ता ग¥यो” भने।
त्यसैगरी सहिद कमल सुवेदीका परिवारका सदस्य कमल सुवेदीले पनि वर्तमान सरकार र जेन्जी नेतृत्वले सहिद परिवारको पीडालाई नजरअन्दाज गरेको आरोप लगाए। उनले भने, “हामीले परिवारका सदस्य गुमाएका छौं, तर सरकार र जेनजीहरू आफ्नो स्वार्थमा व्यस्त छन्, सहानुभूति पनि छैन।”
संघर्ष समितिले श्रम तथा रोजगार मन्त्रालयका लागि सहिद विजय चौधरीका दाजु दिपक चौधरी, खानेपानी मन्त्रालयका लागि सहिद इस्वत अधिकारीका आफन्त भोज विक्रम थापा र युवा तथा खेलकुद मन्त्रालयका लागि सहिद योगेन्द्र न्यौपानेका मामा कमल सुवेदीको नाम सिफारिस गरेको छ।
समितिले सात दिनभित्र माग सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।