ई-मधेश न्युज
जेन–जी अगुवा सहनीको चेतावनी: आगजनी, लुटपाटमा संलग्न र सुधन गुरुङलाई कारबाही गर्नुपर्छ
मधेश न्यूज सम्वाददाता,
काठमाडौँ २१ असोज ।
जेन–जी आन्दोलनका अगुवा कृष्णमोहन सहनीले जेन–जीको नाममा अराजक गतिविधि मच्चाउनेहरूलाई तत्काल कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा सहनीले सुधन गुरुङ र डा. निकोलस भुसाललाई जेन–जीको नाममा आगजनी र लुटपाट गराएको आरोप लगाउँदै कानुनको दायरामा ल्याउनुपर्ने बताए।
“जेन–जीको नाममा अराजकता मच्चाइरहेका व्यक्तिहरूलाई कारबाही नगरी देशमा स्थिरता आउन सक्दैन,” — सहनीले भने।
प्रधानमन्त्री सुशीला कार्कीले जेन–वाईको दबाबमा जेन–जीको पक्षमा काम नगरेको आरोप लगाउँदै सहनीले तत्काल राजीनामा दिन आग्रह गरे।
“यदि उहाँले जेन–जीको आन्दोलनको म्यान्डेटअनुसार काम गर्न सक्दिनुहुन्छ भने राजीनामा दिनुपर्छ, नभए हामी आन्दोलनमा उत्रिन्छौं,” — सहनीको चेतावनी थियो।
सहनीले अहिलेको अवस्थामा चुनाव गर्न नहुने बताउँदै सरकारलाई चुनाव स्थगित गर्न आग्रह गरे।
उनका अनुसार, संविधान संशोधनपछि मात्रै चुनाव सम्भव छ।
“समानुपातिक प्रणाली खारेज गरेर संघीयतालाई सुधार्नुपर्छ,” — उनले भने।
जेन–जी बलमा बनेको सरकारले सम्पत्ति सार्वजनिक नगरेको र समावेशिता नदेखिएको भन्दै सहनीले असन्तुष्टि जनाए।
“महिला, दलित, मधेसी सहभागिता नभएको सरकार हाम्रो म्यान्डेटअनुसार होइन,” — उनले आरोप लगाए।
सहनीले तिहार र छठपछि पुनः आन्दोलनमा आउने चेतावनी दिँदै आन्दोलनमा ज्यान गुमाउनेलाई राष्ट्रिय सहिद घोषणा गर्न माग गरे।
उनले मृतक परिवारलाई रकम वितरण गरेर सरकार “कनिका छर्दै हिँडेको” भन्दै घाइतेहरूलाई रोजगारीको व्यवस्था गर्न पनि आग्रह गरे।