ई-मधेश न्युज
प्रतिनिधि सभा निर्वाचनबारे प्रधानमन्त्री कार्की र निर्वाचन आयोगबीच छलफल
लिलाकान्त यादव
काठमाडौं, ०८ असोज ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीबारे प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगबीच मंगलबार छलफल भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री कार्कीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु सरकारको शीर्ष प्राथमिकता भएको बताइन्। उनले आवश्यक स्रोत–साधन, जनशक्ति उपलब्ध गराउने, शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाउने र सरोकारवालासँग निरन्तर संवाद गर्ने आश्वासन दिइन्।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मतपेटिका लगायतका आवश्यक सामग्री मौज्दातमै रहेको जानकारी गराउँदै, बाँकी सामग्री प्रतिस्पर्धात्मक तरिकाले खरिद गरिने र स्वदेशमा उत्पादित सामग्रीलाई प्राथमिकता दिइने बताए। उनले राजनीतिक दल, नागरिक समाज र सञ्चार जगतसँग सहकार्य गर्दै निर्वाचन सम्पन्न गरिने प्रतिवद्धता व्यक्त गरे।
बैठकमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानूनमन्त्री अनिलकुमार सिन्हा, मुख्य सचिव एकनारायण अर्याल लगायत उच्च अधिकारीहरूको सहभागिता थियो। आयोगतर्फबाट आयुक्त डा. जानकी कुमारी तुलाधर, सगुन सम्शेर जबरा र सचिव महादेव पन्थ उपस्थित थिए।