ई-मधेश न्युज
जेनजी आन्दोलनका सहिद परिवार र घाइतेको आवाज ः “हाम्रो रगत खेर नजाओस”
ईमधेश न्युज सम्वाददाता,
काठमाडौं ०४ असोज ।
जेनजी आन्दोलनका सहिद परिवार र घाइतेहरूले आफ्नो बलिदानलाई राजनीतिक स्वार्थका लागि प्रयोग नगरियोस् भन्ने चेतावनी दिएका छन्। शनिबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले आन्दोलनको उद्देश्य सत्ताको खेल नभई भ्रष्टाचार, कुशासन अन्त्य र सुशासन कायम गर्न रहेको प्रष्ट पारे।
अछामका घाइते आदित्य रावलले सहिद र घाइते परिवारको जीविकोपार्जनबारे सरकारले ठोस योजना बनाउनुपर्ने बताए। गुल्मीका गोकर्ण विस्ट र हुम्लाका सुरेश ऐडीले त्रासमुक्त वातावरण सुनिश्चित गर्न आग्रह गरे। प्रकाश विष्टकी दिदी दुर्गा विष्टले सहिदको रगत खेर जान नदिइनु पर्ने चेतावनी दिँदै माग पूरा नभए पुनः सडकमा आउनुपर्ने बताए।
कार्यक्रममा जेनजी अगुवा सुप्रिया नेपालीले पूर्णसमानुपातिक निर्वाचन प्रणाली, शिक्षा–स्वास्थ्य निःशुल्क, राजनीतिज्ञ–प्रशासकको सम्पत्ति छानबिन जस्ता मागहरू अघि सारे। उनले “बलिदान खेर जाने अवस्था आयो भने आन्दोलन जारी रहन्छ” भन्दै दृढता प्रकट गरिन्।
अगुवा प्रकाश रावलले शान्तिपूर्ण प्रदर्शनमा सरकारले गोली चलाएको आरोप लगाउँदै सहिद–घाइतेको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने बताए। उनले प्रत्यक्ष निर्वाचित कार्यकारी शासकीय स्वरूप स्थापित गर्न संविधान संशोधन आवश्यक रहेको धारणा राखे।
पत्रकार प्रेमराज राई घाइते भएको प्रसंग उठाउँदै उनका दाइ चन्द्र ओमबुलेले घाइते पत्रकारलाई बेवास्ता गरिएकोप्रति असन्तुष्टि जनाए।
सहिद परिवार र घाइतेहरूले साझा स्वरमा भने, “देश र जनताको लागि बगेको हाम्रो रगत खेर नजाओस्, अब खेलबाड सह्य हुँदैन।”कला