ई-मधेश न्युज
प्रधानमन्त्री कार्कीलाई कोनिकाको पत्र: अल्पसङ्ख्यकका माग र ब्लु डायमन्ड छानबिनको आग्रह
लिलाकान्त यादव,
काठमाडौं, ३० भाद्र ।
अधिकारकर्मी कोनिका लामाले प्रधानमन्त्री सुशीला कार्कीलाई पत्र बुझाउँदै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अधिकार सुनिश्चित गर्न माग गरेकी छन्। उनले समुदायका लागि छुट्टै आयोग गठन गर्न नसके पनि कम्तीमा राष्ट्रिय समावेशी आयोगमा समावेश गर्नुपर्ने, नागरिकता र विशेष परिचयपत्र उपलब्ध गराउनुपर्ने र कानुनी मान्यता प्राप्त समलिङ्गी विवाहलाई निरन्तरता दिनुपर्ने माग राखेकी छन्।
पत्रमा ब्लु डायमन्ड सोसाइटीभित्र करिब ८ करोड रुपैयाँ हिनामिना भएको आरोप लगाउँदै तत्काल छानबिन र दोषीमाथि कारबाही गर्न आग्रह गरिएको छ। सोसाइटीका पदाधिकारीमाथि ठगीसम्बन्धी उजुरी दर्ता भइसकेको विवरण पनि पत्रमा उल्लेख छ।
लामाले दुई लाख ८० हजार लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको प्रतिनिधित्व गर्दै पत्र बुझाएको जनाउँदै, जेनजी आन्दोलनमा सहिद भएका युवाप्रति श्रद्धाञ्जली अर्पण र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना समेत व्यक्त गरेकी छन्।