emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

 देशको आँसु पुछ्ने रुमाल कोसंग छ ?

source e-Madhesh २०८२ भाद्र २९ गते , आइतबार
0
Shares
27
Views
 देशको आँसु पुछ्ने रुमाल कोसंग छ ?


रमेश कुमार बोहोरा,
देश नयाँ युगमा प्रवेश गर्ने क्रममा संक्रमणकालको उत्कर्षमा रहेको छ । आन्दोलनकारी जेनजी भावी नेतृत्व चयनको बहसमा केन्द्रित छ, नेपाली सेना जनताको सुरक्षामा खटिएको छ । तर, यो अत्यन्त तरल अवस्थामा सरकारविहीनता लम्बिनु घातक छ ।
अहिलेको समय भावना, आक्रोश आवेग मात्र नभई लोकतान्त्रिक पद्धतिको समेत ख्याल गर्नुपर्नेछ । आन्दोलनको बलमा जे गरे पनि हुन्छ भन्ने गलत अभ्यासले कालान्तरमा देशलाई नै घाटा हुन्छ ।
अहिले मुलुक रोइरहेको छ, नेपाल आमाको आँखाबाट बगिरहेको आँसु पुछ्ने सवाल केवल आन्दोलनको म्याण्डेट मात्र होइन, संवैधानिक, कानुनी हुँदै सामाजिक देशको ऐतिहासिक पक्षसंग पनि जोडिएको छ ।
छोटो समयको आन्दोेलनले जे गर्यो त्यो ऐतिहासिक छ, आन्दोलनका नाममा जेजस्तो प्रहार राष्ट्रको धरोहरहरुमा भयो त्यो पनि ऐतिहासिक नै । अब यिनको पुनःनिर्माण ठूलो प्रश्नको रूपमा खडा भएको छ । मेटिएका, जलेर खरानी भएका ऐतिहासिक दस्तावेजहरुको सवलीकरण ठूलो चुनौति बनेको छ । सेवा प्रवाह अर्को कठीन अवस्था बन्दैछ ।
सिंहदरबारदेखि संसद भवन, सर्वोच्च अदालतदेखि प्रहरी कार्यालयसम्म, अभिलेखालयदेखि सडक विभागसम्म, सम्पूर्ण राज्य संयन्त्र खरानीमा परिणत हुनु केवल भौतिक क्षति होइन लोकतान्त्रिक मूल्य र प्रणालीलाई नै गम्भीर क्षति पुग्नु हो ।
देशको इतिहास जलेर खरानी भयो, भूगोल र सीमासम्बन्धी कागजात हराए, कैयौँ अपराधी जेलबाट मुक्त भए । यस्तो परिस्थितिमा मुलुकले कुन बाटो रोज्ने भन्ने प्रश्नले सबैलाई सताएको छ र यी प्रश्नहरुको उत्तर निकाल्दै आन्दोलनकारीहरुको भावना बुझ्ने र देशलाई सहज गति दिने नेतृत्व अहिले चाहिएको छ ।
जेनजी पुस्ताले सुरु गरेको आन्दोलन सुरुवातीमा शान्तिपूर्ण मागको रूपमा सुरु भए पनि हिंस्रक रुप लिँदै जानु यस पुस्ताको असंगठित नेतृत्वको परिणाम पनि हो । जसले गर्दा राष्ट्रपति र प्रधानसेनापतिले वार्ताका लागि आह्वान गरे पनि प्रतिनिधि चयन हुन सकेन । देशको अन्तरिम नेतृत्व गर्ने पात्रको चयन झन धेरै परको विषय बन्दा यसले थप अन्योल सिर्जना गरेको छ ।
हुन त जेनी आन्दोलनन सत्ता ढाल्ने योजनाबाट भएकै थिएन । उनीहरु आफ्ना आवाज सडकमार्फत सरकारसम्म पुर्याउन मात्र चाहन्थे । त, परिस्थिति यस्तरी उल्टियो कि सरकारले आफ्नै खुट्टामा बञ्चरो हान्यो । देश सरकारविहीन भयो, दलका नेताहरुको अस्तित्व मेटिन पुग्यो ।
अहिलेको परिस्थितिमा लोकतान्त्रिक निकास के हो भन्ने सवाल अझै खुला छ । आन्दोलनले नयाँ मोड लिएपछि जेनजी पुस्ताले संसद विघटनदेखि अन्तरिम नागरिक सरकारको अवधारणा अघि सारेका छन् ।
यसका लागि पनि संविधान बमोजिम नै प्रक्रिया अघि बढाउनुपर्दछ । संविधानविद्हरूले संसद् कायम भएको अवस्थामा संसदभित्रकै बाटो खोज्नुपर्ने सुझाव दिएका छन् । तर आन्दोलनले संसदप्रतिको अविश्वास प्रकट गरिरहेको छ । यहीँबाट अर्को संकट सुरु भएको छ । राष्ट्रपतिद्वारा संसद विघटनको घोषणा, नयाँ निर्वाचनको आव्हानसहित अन्तरिम मन्त्रिपरिषद् गठनको आव्हान गर्नुपर्दछ ।
तयारी यसैको छ, तर प्रश्न कसको नेतृत्वमा सरकार ? सबैले रुचाएको को हो ? शतप्रतिशत कोही पनि छैन, जनताको भावना बुझ्ने, युवा पुस्तालाई समेट्नसक्ने, र राजनीतिक कूटनीतिक क्षमता भएका व्यक्ति अहिलेको खोजी हो । अहिले असंगठित युवाहरुको आन्दोलनले मुलुकलाई नयाँ युगमा प्रवेश गयो, तर गम्भीर राजनीतिक संकट पनि निम्तियो ।
विगतका आन्दोलनहरु संगठित थिए र सत्ता ढल्नासाथ अर्को सत्ता बन्यो । तर, अहिलेका अवस्था फरक छ । यो अवस्थालाई अरु लम्बिन दिनु भनेको मुलुकको अस्तित्वमाथि नै प्रश्न उठ्नु हो । अन्तर्राष्ट्रिय दृष्टान्त पनि यसमा सान्दर्भिक छन् ।
अरब वसन्तले ट्युनिसियामा परिवर्तन ल्यायो तर इजिप्ट र लिबियामा नेतृत्वविहीन आन्दोलन अराजकता र अस्थिरतामा परिणत भयो नेपालको अहिलेको अवस्था त्यही खतरातर्फ धकेलिएको छ । सबैपक्ष गम्भीर हुनु आवश्यक छ ।
आवेग र आक्रोशले मात्र देश बन्दैन । यसर्थ व्यापक परामर्श आवश्यक छ । संविधानविद्हरूले मध्यमार्गी निकास सुझाएका छन् । संसद विघटनको माग आधिकारिक रूपमा जेनजी पुस्ताले उठाएका छैनन् बरु मेयर बालेन्द्र शाहले सार्वजनिक रूपमा बोलेका हुन् । संसद विघटन सहज प्रक्रिया होइन ।
यो केवल उद्देश्यपूर्ण अवस्थामा मात्र सम्भव हुन्छ र त्यसका लागि राष्ट्रपति, आन्दोलनकारी नेतृत्व र नेपाली सेनाबीच सहमति आवश्यक हुन्छ । सेनाबिना कुनै पनि राजनीतिक निर्णय दीर्घकालीन रूपमा टिक्न सक्दैन भन्ने तथ्य इतिहासले प्रमाणित गरिसकेको छ ।
अहिलेको प्रमुख बहस ‘राष्ट्रिय सरकार’ वा ‘अन्तरिम नागरिक सरकार’ भन्ने छ । संविधानअनुसार संसदभित्रका सदस्यले सरकार बनाउन सक्छन् । तर आन्दोलनले त्यसलाई मान्यता दिने सम्भावनै छैन र त्यो दिशामा जाने पनि होइनन ।
यस्तो अवस्थामा सबै पक्षलाई समेट्ने, प्रतिनिधित्व हुने, समावेशी र सर्वस्वीकार्य सरकार नै निकास बन्नसक्ने देखिन्छ । यस्तो सरकारले आन्दोलनकारी युवाहरूलाई पनि प्रतिनिधित्व दिलाउनुपर्छ जसले आन्दोलनलाई वैधता दिनेछ ।
अन्तरिम सरकार छोटो अवधिको समाधान हो । यसले तत्कालीन माग सम्बोधन गरेर निकास दिन सक्छ र ६ महिनाभित्र चुनाव गराएर नयाँ जनादेशअनुसार स्थायी सरकार गठन गर्न सकिन्छ ।
यस्तो सरकार बनाउन राष्ट्रपति र सेनाको सक्रियता जारी छ । राजनीतिक दलहरुले पनि जेनजीकै माग र चाहना अनुसार होस् भनिसकेकाले यो सहज छ तर, नेतृत्व कसको ? त्यो नेतृत्वले देशको जटिल अवस्थालाई हाँक्न सक्छ कि सक्दैन ? यो गम्भीर प्रश्न कायम छ ।
जेनजी पुस्ताले आन्दोलन हिंस्रक नभएको, बाह्य घुसपैठ र आपराधिक समूहको संलग्नताले हिंसा भएको दाबी गरेका छन् । उनीहरूले भएको धनजनको क्षतिबारे निष्पक्ष छानबिन माग गरेका छन् । तर, माग कोसमक्ष ? देशमा सरकार छैन । यसका लागि द्रुत पहल आवश्यक छ । आवेग होइन, संविधान टेकेर अघि बढ्नैपर्छ । अन्यथा आन्दोलनको विश्वास र वैधता गुम्नेछ ।
अन्तर्राष्ट्रिय दृष्टान्तले देखाउँछ सर्बिया, ट्युनिसिया, दक्षिण अफ्रिकामा नागरिक आन्दोलनले राष्ट्रिय सरकार वा संक्रमणकालीन सरकारमार्फत निकास दिएको थियो । तर लिबिया र सिरियामा नेतृत्वविहीन आन्दोलन अराजकता, गृहयुद्ध र विदेशी हस्तक्षेपमा परिणत भयो । नेपाल कुन बाटो जान्छ भन्ने आजको निर्णयमा भर पर्छ ।
आज पत्रकारिता, नागरिक समाज र बुद्धिजीवीहरूको भूमिका महत्त्वपूर्ण छ । उनीहरूले केवल आलोचना मात्र होइन निकासका व्यावहारिक सुझाव दिनुपर्छ । नागरिकले संयमता र जिम्मेवारीका साथ सहभागिता जनाउनुपर्छ ।
आन्दोलनकारीले संगठनात्मक क्षमता बढाउँदै वैकल्पिक नेतृत्व निर्माण गर्नुपर्छ । राजनीतिक दलहरूले राष्ट्रहितलाई प्राथमिकता दिनुपर्छ । सेना र राष्ट्रपतिले स्थायित्व कायम गर्न संवैधानिक सीमाभित्र रहनुपर्छ ।
देश अहिले गम्भीर मोडमा छ । एउटा बाटो अराजकता, विघटन र दीर्घकालीन अस्थिरतामा लैजाने छ भने अर्को बाटो संवाद, सहमति र संस्थागत स्थायित्वतर्फ लैजानेछ । कुन बाटो रोज्ने भन्ने निर्णय आजको नेतृत्व र नयाँ पुस्ताले गर्नुपर्नेछ । यदि असफल भयौं भने केवल संरचना मात्र होइन, सम्पूर्ण राष्ट्र अस्तित्वमै संकटमा पर्छ ।
देशको आँसु पुछ्ने काम केवल भावनाले सम्भव हुँदैन । यो काम गर्न दूरदृष्टि, जिम्मेवारी र साहस चाहिन्छ । त्यो जिम्मेवारी अब सबैले बाँड्नुपर्छ पुराना दल, नयाँ पुस्ता, सेना, राष्ट्रपति, नागरिक समाज र आम जनता सबैले । साझा जिम्मेवारी मात्र यो संकटलाई निकास दिन सक्छ । अन्यथा देशको आँसु अझै लामो समयसम्म बगिरहनेछ ।
( लेखकः– बोहोरा अर्थ सवाल साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुनुहुन्छ )

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव