ई-मधेश न्युज
राष्ट्रपति पौडेलको शान्ति र संवैधानिक निकासका लागि अपिल
लिलाकान्त यादव,
काठमाडौँ, २६ भाद्र ।
राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान बिषम परिस्थितिमा सबै पक्षलाई संयमित रहि शान्ति, सुव्यवस्था र लोकतन्त्रको संरक्षणमा सहयोग गर्न अपिल गरेका छन्।
मंगलबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले आन्दोलनकारी नागरिकहरूको माग सम्बोधनका लागि छिटोभन्दा छिटो समाधान खोजिने विश्वास दिलाएका छन्। उनले मुलुकलाई संवैधानिक दायरामा रहि राजनीतिक निकास दिन निरन्तर विचार–विमर्श र पहल भइरहेको स्पष्ट पारे।
“देशको अहिलेको बिषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भन्नेबारे म विचार–विमर्श एवं प्रयास गर्दैछु,” विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रपति पौडेलले नागरिकलाई संयमता अपनाउन आग्रह गर्दै सबै सरोकारवालालाई शान्तिपूर्ण संवादमार्फत समस्या समाधानमा सहकार्य गर्न आह्वान गरेका छन्।