ई-मधेश न्युज
राजविराजस्थित कारागारबाट सयभन्दा बढी कैदी फरार
लिलाकान्त यादव,
राजविराज, २५ भाद्र ।
राजविराजस्थित कारागारबाट करिब एक सयभन्दा बढी कैदीबन्दी फरार भएका छन्। जेलर गंगालाल योगीका अनुसार हाल कारागारमा ३९८ जना कैदीबन्दी रहेकामा तीमध्ये एक सयभन्दा बढी फरार भएको पुष्टि भएको हो।
आगो नियन्त्रणमा लिन र सुरक्षाका लागि नेपाली सेनासहित अन्य सुरक्षाकर्मीहरू परिचालन गरिएको जेलर योगीले जानकारी दिए। फरार कैदीबन्दीहरूको खोजी कार्य तीव्र पारिएको उनले बताए।
यसैबीच जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) जीतेन्द्रकुमार बस्नेतका अनुसार दुई जना फरार कैदीलाई पक्राउ गरिएको छ।
आगलागीका कारण कारागारको संरचना समेत क्षतिग्रस्त भएको प्रारम्भिक जानकारी आएको छ। हाल घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।