ई-मधेश न्युज
संवादमार्फत समाधान खोज्न सेनापतिसहित सुरक्षा प्रमुख र मुख्यसचिवको अपिल
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, २४ भाद्र ।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भएको संवेदनशील राजनीतिक परिस्थितिमा संयमता अपनाउन र संवादमार्फत समाधान खोज्न प्रमुख प्रशासनिक र सुरक्षा निकायका उच्च पदाधिकारीले संयुक्त अपिल गरेका छन्।
मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणी दुवाडी, सशस्त्र प्रहरीका आइजीपी राजु अर्याल, नेपाल प्रहरीका आइजीपी चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का प्रमुख हुतराज थापाले मंगलबार संयुक्त वक्तव्य जारी गर्दै यस अपिल गरेका हुन्।
‘सम्माननीय प्रधानमन्त्रीज्यूको राजीनामा स्वीकृत भइसकेको हुँदा यो विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन सबै नागरिकलाई संयमित हुन हार्दिक आग्रह गर्दछौं। राजनीतिक संवादको माध्यमबाट यथाशीघ्र शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैलाई हार्दिक अपिल गर्दछौं,’ वक्तव्यमा भनिएको छ।
हालै राजधानीमा तीव्र बनेको जेनजी आन्दोलनमा मृत्यु र घाइतेको संख्या बढ्दै गएको पृष्ठभूमिमा सार्वजनिक गरिएको यो अपिललाई मुलुकको स्थिरता र शान्तिका लागि महत्वपूर्ण मानिएको छ। सुरक्षा प्रमुखहरूले आन्दोलन चर्कँदा हिंसा र अस्थिरताले राष्ट्रिय हितलाई गम्भीर असर पार्ने हुदा सबै पक्षलाई सहमतिको बाटो रोज्न आग्रह गरेका छन्।