ई-मधेश न्युज
प्रधानमन्त्री ओलीको राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत
लिलाकान्त यादव,
काठमाडौं, २४ भाद्र ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। असामान्य राजनीतिक परिस्थिति र बढ्दो जनआन्दोलनलाई ध्यानमा राख्दै मंगलबार दिउँसो उनले पद त्यागेको उनका सचिवालयले जनाएको छ। ओलीको राजीनामा सोही दिन अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका छन्।
विक्रम संवत् २०८१ असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका ओलीले संविधानअनुरूप राजनीतिक निकास दिन तथा समस्या समाधानका लागि नयाँ पहल आवश्यक रहेको भन्दै राजीनामा दिएका हुन्। संविधानको धारा ७७ (१) (क) अनुसार आजैका मितिदेखि लागू हुनेगरी उनले राजीनामा पत्र बुझाएको उल्लेख छ।
हालै उग्र बनेको जेनजी आन्दोलन नियन्त्रणबाहिर पुगेपछि पद त्याग्नुपर्ने परिस्थिति सिर्जना भएको बताइन्छ। आन्दोलनमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको भिडन्तमा मृत्यु र घाइतेको संख्या बढ्दै गएपछि सरकार गम्भीर दवावमा परेको थियो।
ओलीको राजीनामापछि मुलुक नयाँ राजनीतिक मोडमा प्रवेश गरेको छ। संविधानअनुसार अब राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दलहरूको सहमति जुटाउने प्रयास गर्नेछन्। यससँगै आगामी सत्ता समीकरण र नेतृत्व चयनप्रति राजनीतिक वृत्त र आम जनमानस दुवैको ध्यान केन्द्रित भएको छ।