ई-मधेश न्युज
आन्दोलनमा मृत्यु भएका विद्यार्थीप्रति श्रद्धाञ्जली, दुई दिन शोक विदा घोषणा
काठमाडौं । देशभर भएका आन्दोलनका क्रममा थुप्रै युवा तथा विद्यार्थीले ज्यान गुमाउँदा शिक्षासहित समग्र नेपाली समाज स्तब्ध बनेको छ। सयौं घाइते विभिन्न अस्पतालमा उपचाररत रहेका अवस्थामा शोकमग्न वातावरण सिर्जना भएको छ। संयुक्त विज्ञप्तिमार्फत दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै, उपचाररत सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। दर्जनौं युवाले ज्यान गुमाउनु परेको मार्मिक घडीमा मिति २०८२ भाद्र २४ र २५ गते दुई दिन शोक विदा दिने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ। सामाजिक शान्ति, सद्भाव र सहिष्णुता कायम गर्न सबैलाई आह्वान गर्दै अभिभावक, विद्यार्थी, शिक्षक, नागरिक समाज तथा सरोकारवालालाई संयमता र धैर्यताका साथ परिस्थितिको सामना गर्न आग्रह गरिएको छ।