ई-मधेश न्युज
जसपाले सामाजिक सञ्जाल बन्द र प्रदर्शनमाथिको दमनको विरोध
लिलाकान्त यादव,
काठमाडौं, २३ भाद्र ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारद्वारा गरिएको सामाजिक सञ्जाल बन्द र शान्तिपूर्ण प्रदर्शनमाथि भएको दमनको कडा विरोध गरेको छ।
जसपाले मंगलबार एक विज्ञप्ति जारी गर्दै राजधानी काठमाडौंसहित देशैभर ‘जेन जेड’ पुस्ताका युवा–विद्यार्थीहरूले भ्रष्टाचार अन्त्य, बेरोजगारी समाधान र सामाजिक सञ्जाल खोल्न माग गर्दै गरेको शान्तिपूर्ण प्रदर्शनमाथि सरकारद्वारा गरिएका दमनकारी गतिविधिप्रति गम्भीर आपत्ति जनाएको हो।
विज्ञप्तिमा प्रहरीको गोली प्रहारमा परी दर्जनौं प्रदर्शनकारीको ज्यान गएको र सयौं विद्यार्थी तथा पत्रकार घाइते भएको उल्लेख छ। जसपाले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको निःशुल्क उपचारको व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेको छ।
महासचिव रामकुमार शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “लामो समयदेखि देशमा देखिएको गरिबी, बेरोजगारी, कुशासन र भ्रष्टाचारका कारण जनसमुदाय आक्रोशित भएको हो। यस्तो बेला शान्तिपूर्ण आन्दोलनमाथि गोली चलाउनु अस्वीकार्य छ।”
जसपाले आन्दोलनलाई सम्बोधन गर्न संवाद र वार्ताको बाटो अपनाउन, सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउन र युवाहरूको जायज माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ।