ई-मधेश न्युज
जसपा नेपाल सप्तरीद्वारा राजबिराजमा भूमि विधेयक र गौर घटनाविरुद्ध विशाल विरोध प्रदर्शन
ईमधेश न्यूज सम्वाददाता,
राजविराज, १६ भाद्र ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीले भूमि विधेयक र गौर राजनीतिक घटनालाई अतिरञ्जित गरेर प्रचार गर्ने राज्यको षड्यन्त्रविरुद्ध शनिबार राजबिराजमा विशाल विरोध प्रदर्शन गरेको छ।
पार्टीका अनुसार संसदबाट पारित भूमि विधेयक मधेश र किसानविरोधी रहेको र यसले सर्वसाधारणको हक अधिकार खोस्ने प्रयास भएको आरोप लगाइएको छ। जसपा नेताहरूले भूमिसम्बन्धी विधेयकलाई तत्काल खारेज गर्नुपर्ने माग राख्दै सडक संघर्षलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याए।
सोही अवसरमा जसपा नेपालका नेताहरूले गौर राजनीतिक घटनालाई लामो समयदेखि अतिरञ्जित गरी जसपा अध्यक्ष उपेन्द्र यादवलाई फसाउने खेल भइरहेको दाबी गरे। उनीहरूले यस्तो षड्यन्त्रबाट जनता गुमराह नहुने चेतावनी दिँदै सत्यतथ्य उजागर गर्न माग गरे।
विरोधसभामा जसपा नेपालका केन्द्रीय, प्रदेश र जिल्ला तहका नेतासहित हजारौं कार्यकर्ताको सहभागिता रहेको थियो। प्रदर्शनमा सहभागीहरूले “भूमि विधेयक खारेज गर”, “गौर घटनाको सत्यतथ्य बाहिर ल्याऊ” लगायतका नाराबाजी गरेका थिए।
नेताहरूले आन्दोलनलाई अझ व्यापक बनाउन सम्पूर्ण मधेशी जनतालाई एकजुट हुन आह्वान गरेका छन्। जसपा नेपालले आगामी दिनहरूमा अझ सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।