ई-मधेश न्युज
सप्तरीका शिक्षकद्वारा ध्यानाकर्षण पत्र, सहमति कार्यान्वयनको माग
ईमधेश न्यूज सम्वाददाता,
राजविराज, १५ भाद्र ।
नेपाल शिक्षक महासङ्घ जिल्ला आन्दोलन परिचालन समिति, सप्तरीले शिक्षा विकास तथा समन्वय इकाइ, सप्तरीलाई ध्यानाकर्षण पत्र बुझाउँदै विगतका आन्दोलनमार्फत भएका सहमति कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाएको छ। महासङ्घले विद्यालय शिक्षा विधेयकमा अस्थायी शिक्षक, सेवा–सुविधा, दरबन्दी मिलान, अध्यापन अनुमती पत्र म्याद थप, गोल्डेन हेन्डसेक, प्रधानाध्यापकको ट्रेड युनियन अधिकार लगायतका मुद्दा समावेश नभएको जनाएको छ।
शिक्षकहरूले २०३६ सालदेखि २०६३ सम्म भएका आन्दोलनका आधारमा नेपाल सरकारसँग भएका सहमतिहरूलाई विधेयकमा समावेश गर्नुपर्ने माग गरेका छन्। तर प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा ती सहमति उपेक्षित भएको भन्दै असन्तुष्टि प्रकट गरिएको छ। महासङ्घले यसरी शिक्षक–कर्मचारीको हकअधिकारप्रति अवहेलना गरिनु अन्यायपूर्ण भएको टिप्पणी गरेको छ।
ध्यानाकर्षण पत्रमा सरकारले तुरुन्तै संशोधन गरी विधेयकलाई शिक्षक–कर्मचारीमैत्री बनाउनुपर्ने चेतावनी दिइएको छ। हाल प्रचारात्मक चरणको आन्दोलन चलिरहेको र समस्या सम्बोधन नभए दोस्रो चरणमा कडा कार्यक्रमसहित आन्दोलनमा जाने जनाएको छ। महासङ्घले यसबाट सिर्जना हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारकै हुने चेतावनी समेत दिएको छ।