ई-मधेश न्युज
गौरा पर्व–२०८२ को अवसरमा उपराष्ट्रपति यादवद्वारा शुभकामना सन्देश
लिलाकान्त यादव,
काठमाडौं, १५ भाद्र ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गौरा पर्व–२०८२ को पावन अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि मंगलमय शुभकामना व्यक्त गरेका छन्।
सुदूरपश्चिम र कर्णाली प्रदेशसहित मुलुकका विभिन्न भागमा परम्परागत रूपमा मनाइने गौरा पर्व धार्मिक आस्था, सांस्कृतिक सम्पदा र सामाजिक एकताको अनुपम प्रतीक रहेको उल्लेख गर्दै उनले यस पर्वले नेपाली समाजलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गरे।
यादवले गौरी–महेश्वरको आराधना गरिने यो पर्वमा ‘बिरुडा’ प्रसाद स्वरूप ग्रहण गर्ने, देउडा र धमरीजस्ता लोकनृत्य तथा गीतमार्फत सामूहिक उत्सवको रुपमा मनाउने परम्पराले पर्वलाई थप जीवन्त बनाउने बताए। उनले गौरा पर्व सुसौभाग्य, शुद्धता, सुख–शान्ति र समृद्धिको प्रतीक मात्र नभई भ्रातृत्व, सहअस्तित्व र मातृभूमिप्रतिको गहिरो प्रेमको अभिव्यक्ति भएको उल्लेख गरे।
उपराष्ट्रपति यादवले विशेषतः विदेशमा रहेकाहरूले यस अवसरमा आफ्नो थातथलो फर्केर पूजा–आराधना गर्ने परम्परा माटोप्रतिको गहिरो निष्ठा र भावनात्मक सम्बन्धको परिचायक भएको बताए। यस पर्वले परिवार, आफन्तजन र समुदायबीचको सम्बन्धलाई पुनः सुदृढ बनाउने भन्दै उनले जात, वर्ग, लिङ्ग वा हैसियतको भेदभावबिना सबैलाई एउटै वृत्तमा जोड्ने परम्परा सामाजिक समता र सहअस्तित्वको सन्देश भएको स्पष्ट पारे।
चाडपर्वलाई केवल धार्मिक अनुष्ठानमा सीमित नराखी लोककल्याण र सामाजिक समृद्धिको माध्यमका रुपमा प्रयोग गर्न सकिने हो भने यी पर्वहरू राष्ट्र निर्माणको आधार बन्न सक्ने विश्वास व्यक्त गर्दै यादवले गौरा पर्वले राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकतालाई अझ मजबुत बनाउने बताए।