ई-मधेश न्युज
सप्तरीमा सम्पन्न बाँतर सरदार राष्ट्रिय भेला ः समान अधिकार र राजनीतिक सहभागितामा जोड
लिलाकान्त यादव,
राजविराज, १४ भाद्र ।
सप्तरीको कञ्चनरूप–८ कञ्चनपुरमा शनिबार सम्पन्न बाँतर सरदार समुदायको राष्ट्रिय भेलाले समुदायको अधिकार, पहिचान र पहुँच सुनिश्चित गर्न राज्यलाई ठोस नीति तथा योजनासहित सम्बोधन गर्न माग गरेको छ।
राष्ट्रिय सरदार बाँतर समाज विकास केन्द्रका अध्यक्ष श्यामसुन्दर सरदार प्रमुख अतिथि रहेको भेलामा मधेश प्रदेशका आठ जिल्लासहित मोरङ र सुनसरीबाट करिब पाँच सय प्रतिनिधिको सहभागिता थियो। सहभागीहरूले शिक्षा, रोजगारी, स्वास्थ्य र राजनीतिक प्रतिनिधित्वमा समान अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै राज्यले लामो समयदेखि गरेको उपेक्षाप्रति आक्रोश व्यक्त गरे।
भेलामा रञ्जना सरदार, माओवादी नेता बच्चेलाल सरदारलगायत वक्ताहरूले ऐतिहासिक विभेद अन्त्य गरी योजनाबद्ध अभियान अघि बढाउनुपर्ने धारणा राखे। अध्यक्ष श्यामसुन्दर सरदारले बजेट निर्माण र योजना विनियोजनमा बाँतर सरदार समुदायको उपस्थिति र आवाज समावेश नभएसम्म समानताको बहस अधुरो रहने बताए।
बुद्धिलाल सरदारको अध्यक्षतामा सम्पन्न भेलाले समानुपातिक समावेशीकरणमार्फत निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित गर्नुपर्ने निष्कर्ष निकाल्दै आगामी दिनमा सङ्गठित संघर्षलाई अझ सशक्त बनाउने अठोट गरेको छ।