ई-मधेश न्युज
उपराष्ट्रपतिबाट चौरचन (चकचना) र गणेश चौथीको शुभकामना
लिलाकान्त यादव,
काठमाडौं, १० भाद्र ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले चौरचन (चकचना) पर्व तथा गणेश चौथी, २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइलाई मंगलमय शुभकामना व्यक्त गरेका छन् ।
भदौ शुक्ल चौथीका दिन सूर्यास्तपछि तराई–मधेशका जिल्लामा चन्द्र देवको पूजा–उपासना गरी मनाइने चौरचन पर्व धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको प्रतीक रहेको उनले बताएका छन् । यस पर्वमा पुरी, खीर, दही, मौसमी फलफूल लगायतका परिकार चन्द्रलाई अर्पण गरी परिवारसँग सामूहिक रूपमा ग्रहण गर्ने परम्परा रहेको उल्लेख गर्दै उपराष्ट्रपतिले यसले खानपान संस्कृतिको विविधता र पारिवारिक सौहार्दलाई बलियो बनाउने बताए ।
त्यस्तै, गणेश चौथी पर्व विघ्नहर्ता भगवान गणेशको आराधना गर्ने महत्वपूर्ण अवसर भएको उपराष्ट्रपतिले स्मरण गरे । विघ्न नाश, कार्यसिद्धि र मानसिक शान्तिका लागि गणेशको पूजा–अर्चनाले सामाजिक आत्मा, सांस्कृतिक पहिचान र सामूहिक चेतनालाई बलियो बनाउने उनले बताए ।
यस्ता पर्वहरूले समाजमा भाइचारा, अपनत्व र सहिष्णुताको भावना जागृत गराउने भन्दै उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।