ई-मधेश न्युज
जसपाको केन्द्रीय समितिको बैठक वीरगंजमा प्रारम्भ
ईमधेश न्यूज सम्वाददाता,
वीरगंज, १२ माघ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज वीरगंजस्थित पुजन होटलमा प्रारम्भ भएको छ। बैठकको अध्यक्षता पार्टीका केन्द्रीय अध्यक्ष माननीय अशोक कुमार राईले गर्नुभएको छ।
बैठकको उद्घाटन सत्रमा वीरगंज महानगरका मेयर एवं पार्टीका केन्द्रीय सदस्य राजेशमान सिंहले स्वागत मन्तव्य राख्दै सहभागी नेताहरूलाई सम्मान गर्नुभयो। बैठक आज र भोलि (माघ १२ र १३) गरी दुई दिनसम्म सञ्चालन हुनेछ।
बैठकमा पार्टीका विभिन्न राजनीतिक, संगठनात्मक, र समसामयिक विषयमा गहन छलफल गरिनेछ। विशेष गरी मधेशका मुद्दा तथा भावी रणनीतिका विषयमा छलफल केन्द्रित रहने छ।
बैठकमा सहभागीहरुमा अध्यक्ष माननीय अशोक कुमार राई, संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठ, सह–अध्यक्ष रेणु कुमारी यादव, उपाध्यक्ष तथा माननीय मन्त्री नवलकिशोर साह सुडी, उपाध्यक्षः माननीय शुशीला श्रेष्ठ, उपाध्यक्ष रन्ध्वज कन्दनवा लिम्बु, महासचिव मोहम्मद इश्तियाक राई, सचिवः माननीय बिरेन्द्र महतो र कोषाध्यक्ष माननीय रञ्जु झाको उपस्थिति रहेका थिए ।
बैठकले पार्टीको संगठनात्मक मजबूती, जनताका प्राथमिकता, र राष्ट्रिय राजनीति सम्बन्धी महत्त्वपूर्ण निर्णयहरू गर्ने अपेक्षा गरिएको छ। साथै, यस बैठकलाई मधेश क्षेत्रका विषयमा ठोस योजनाहरू तय गर्ने अवसरका रूपमा हेरिएको छ।