ई-मधेश न्युज
भूमि विधेयकविरुद्ध सप्तरीमा जसपाको आन्दोलन सुरु
राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीले संसदबाट हालै पारित भूमि सम्बन्धी विधेयकविरुद्ध आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । सोमबार राजविराजमा बसेको विस्तारित बैठकले भदौ ९ देखि १६ गतेसम्म विभिन्न विरोध कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । निर्णय अनुसार भदौ ९ गते राजबिराजमा जिल्ला समितिको अगुवाइमा विरोध र्याली निकालिनेछ । त्यसपछि भदौ ११ गते भारदह (निर्वाचन क्षेत्र १), भदौ १२ गते बरसाईन चौक (निर्वाचन क्षेत्र ४), भदौ १३ गते तोपा (निर्वाचन क्षेत्र २) र भदौ १४ गते पथरगडामा (निर्वाचन क्षेत्र ३) विरोध प्रदर्शन गरिनेछ । साथै भदौ ९ देखि १५ गतेसम्म देशका अन्य सहरहरूमा समेत विरोध कार्यक्रम सञ्चालन हुने जनाइएको छ । जिल्ला अध्यक्ष केदार यादवले भूमि विधेयक तराई/मधेसलाई मरुभूमिकरणतर्फ धकेल्ने खतरनाक कदम भएको दाबी गरे । उनले भने, “यो विधेयक मुलुक र जनताको हितमा छैन, बरु भू-माफिया र दलालको पक्षमा मात्रै छ । त्यसैले जसपा नेपाल शुरु देखिनै यसको विपक्षमा छ ।” उनले ‘भूमि र वन बचाऔं, मधेसलाई मरुभूमिकरण हुनबाट जोगाऔं’ अभियानअन्तर्गत व्यापक संघर्ष अघि बढाइने स्पष्ट पारे । बैठकमा जसपा केन्द्रीय सदस्य तथा अनुशासन समितिका जगदेव यादव, प्रदेशसभा सदस्यहरू अनिरुद्ध प्रसाद यादव, किरण साह, पुनम यादव, उपमा देव, गीता यादव, विकास तिवाडी, रमिला साह, जसपा मधेश प्रदेश सचिव दिनेश यादव, सदस्य किशोर कुमार यादवलगायत नेताहरू सहभागी थिए । कार्यक्रम सचिव निरज मुक्तीले सञ्चालन गरेका थिए ।