ई-मधेश न्युज
वीरगंजमा हैजारोग नियन्त्रणका लागि खानेपानी मन्त्रालय सक्रिय
ईमधेश न्युज सम्वाददाता,
वीरगंज, ०८ भाद्र ।
वीरगंज महानगरपालिकाका विभिन्न वडा तथा टोलहरूमा देखिएको हैजारोगको संक्रमण नियन्त्रणका लागि खानेपानी मन्त्रालय पूर्ण रूपमा सक्रिय भएको छ।
मन्त्री स्वयं सहित प्राविधिक टोलीले आज बिहानदेखि प्रभावित वडाहरूमा पुगेर पानी परीक्षणको काम सुरु गरेका छन्। यससँगै खानेपानी तथा ढल व्यवस्थापन विभागबाट ‘पियुष’ लगायत पानी शुद्धिकरण सामग्री सहितको मोबाइल टोली परिचालित गरिएको छ, जसले प्रभावित क्षेत्रमा पानी परीक्षण र शुद्धिकरणलाई तीव्र बनाएको छ।
शनिबार मन्त्रीले नारायणी अस्पताल लगायत स्वास्थ्य संस्थामा उपचाररत बिरामीहरूको अवस्थाबारे जानकारी लिँदै प्रभावित वडाहरूको स्थलगत निरीक्षणसमेत गरेका थिए। उनले सरसफाइ, खानेपानीको स्रोत र ढल व्यवस्थापनको अवस्था प्रत्यक्ष अवलोकन गर्दै तत्कालीन र दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
हैजारोग दूषित खाना र पानीको सेवनबाट सर्ने भएकाले स्थानीयबासीलाई सचेत रहन आग्रह गरिएको छ। मन्त्रालयले पानी उमालेर मात्रै पिउन, साबुनपानीले नियमित हात धुने र खानालाई राम्रोसँग पकाएर मात्र खाने सुझाव दिएको छ।
“सचेत रहौं, सुरक्षित रहौं। हैजारोगको रोकथाममा सबैको सहकार्य आवश्यक छ,” मन्त्रीले भने।