ई-मधेश न्युज
जसपा नेपालद्वारा विवादित भूमि विधेयकविरुद्ध देशव्यापी विरोध प्रदर्शनको घोषणा
लिलाकान्त यादव,
काठमाडौं, ०७ भाद्र ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याएको भूमि सम्बन्धी विधेयकलाई “जनता र मुलुकको हितविपरीत” भन्दै कडा विरोध गर्ने घोषणा गरेको छ।
जसपाको केन्द्रीय सचिवालय बैठकले संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट विधेयक अगाडि बढाइएपछि यसले भू–माफिया र जग्गा दलाललाई मात्र फाइदा पुग्ने र तराई÷मधेशलाई मरुभूमिकरणतर्फ धकेल्ने गम्भीर जोखिम भएको ठहर गरेको छ।
पार्टीले “भूमि र वन बचाऔं, मधेशलाई मरुभूमिकरण हुनबाट जोगाऔं” अभियान अन्तर्गत यही भदौ ९ देखि १५ गतेसम्म देशका विभिन्न शहरहरूमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ।
जसपा नेपालले जारी विज्ञप्तिमा भनिएको छ –
“वन क्षेत्र अतिक्रमण, जैविक विविधता विनाश र वातावरणीय संकट निम्त्याउने गरी ल्याइएको यो विधेयक राष्ट्रिय हितविपरीत छ। यसविरुद्ध कडा प्रतिकार गर्न हामी सडकमा उत्रिनेछौं।”
पार्टीले आमजनतालाई आन्दोलनमा सक्रिय सहभागी भई भूमि, जल, जंगल र पर्यावरणको रक्षा गर्न प्रेस विज्ञप्ति मार्फत अपील गरेको छ।