ई-मधेश न्युज
सप्तरीमा सामुदायिक र विद्यालय भवन उद्घाटन, शिक्षा र पूर्वाधारमा सरकारको प्राथमिकता
लिलाकान्त यादव,
राजविराज, ०१ भाद्र ।
सप्तरीमा शिक्षा र सामुदायिक विकासलाई प्राथमिकतामा राख्दै दुईवटा महत्वपूर्ण भवनको उद्घाटन आइतबार भव्य समारोहबीच सम्पन्न भएको छ। कञ्चनरुप नगरपालिका–१, मलकोलमा सामाजिक विकास मन्त्रालयको सहयोगमा निर्मित कोशी माँ सामुदायिक भवनको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह प्रमुख अतिथि र नगर प्रमुख पदका प्रत्यासी भोला पासवान विशिष्ट अतिथि रहनु भएको थियो। मन्त्री साहले मलकोल क्षेत्रमा विद्यालय निर्माण अपरिहार्य भएको बताउँदै यसका लागि स्थानीय समुदायको सक्रिय पहल आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले विद्यालयका लागि जग्गा उपलब्ध गराउन आह्वान गर्दै, “जग्गा भए सरकार बजेट दिन तत्पर छ,” भन्दै प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यस्तै, सप्तकोशी नगरपालिका–२, फतेपुरस्थित गोबर्धन वैरागी जनता माध्यमिक विद्यालयको नवनिर्मित भवन पनि मन्त्री साहद्वारा उद्घाटन गरिएको छ। उक्त भवन नेपाल सरकारको सहरी विकास मन्त्रालयको आर्थिक वर्ष ०८१÷०८२ को बजेटबाट निर्माण गरिएको हो। उद्घाटन समारोह वडा अध्यक्षको अध्यक्षतामा सम्पन्न भएको थियो भने नगर प्रमुख र उपप्रमुख विशिष्ट अतिथीका रूपमा उपस्थित थिए।
नवनिर्मित भवनमा आधुनिक कक्षाकोठा, पर्याप्त प्राकृतिक प्रकाश, हावापानीको सहज व्यवस्था र शिक्षण–अधिगमका लागि आवश्यक पूर्वाधार समेटिएको छ। उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, युवा नेता, महिला सदस्य र समुदायका बुद्धिजीवीहरूको उपस्थिती रहेको थियो।
मन्त्री साह र प्रत्यासी पासवानले दुवैले बालबालिकाले गुणस्तरीय शिक्षा पाउनुपर्नेमा जोड दिएका थिए। नयाँ भवनले विद्यालयको शैक्षिक वातावरण सुधार्ने र स्थानीय बालबालिकालाई सुरक्षित र सुविधाजनक शिक्षण–अधिगमको अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ। स्थानीय समुदाय र सरोकारवालाको सक्रिय सहभागिताले मात्रै यस्तो निर्माण सम्भव भएको उल्लेख गर्दै दुवैले भविष्यमा पनि शिक्षा र पूर्वाधार विकासमा निरन्तर ध्यान दिनुपर्ने बताउनुभयो।