ई-मधेश न्युज
“कञ्चनपुर–सप्तरीमा विभिन्न दल परित्याग, जसपामा प्रवेश
ईमधेश न्यूज सम्वाददाता,
राजविराज, ३१ साउन ।
सप्तरीमा जनता समाजवादी पार्टी (जसपा)को प्रभाव दिन प्रतिदिन बढ्दै गएको छ। शुक्रबार तिरहुत गाउँपालिका–१ बैरवास्थित छेदी पंजियार धर्मशालामा आयोजित भव्य कार्यक्रममा सयौं नेता तथा कार्यकर्ताले विभिन्न राजनीतिक दल परित्याग गर्दै जसपामा प्रवेश गरेका छन्।
जसपामा प्रवेश गर्ने नेतामध्ये जनमत पार्टीका पूर्व नगर अध्यक्ष अनिल कुमार पञ्जियार, कञ्चनरुप नगरपालिका–१ का पूर्व वडाध्यक्ष पदका उम्मेदवार रामदेव शर्मा खंग, नगर उपाध्यक्ष विमला देवी मण्डल, उपाध्यक्ष रेशम लाल साह, सचिव विशेश्वर महतो, सदस्य भवनेश्वर सदा, शिवु यादव, दिलीप कुमार राउत, मुनेश्वर देवी खंग लगायत रहेका छन्। त्यस्तै पूर्व बुथ समिति संयोजक विशेश्वर खंग, सह–संयोजक रामचन्द्र मण्डल, महिला प्रचार–प्रसार समिति संयोजक चन्द्रिका देवी खंग, ललिता देवी खंग, युवा समिति संयोजक सम्पैत लाल मण्डल पनि सामूहिक रूपमा जसपामा प्रवेश गरेका छन्।
यस्तै, माओवादी केन्द्रका पूर्व नेता तथा कोशी टप्पु वन्यजन्तु मध्यवर्ती क्षेत्र बदगामा बैरवाका अध्यक्ष हस्बुदिन शैखको नेतृत्वमा समेत सयौं कार्यकर्ताले पार्टी प्रवेश गरेका छन्। सोही कार्यक्रममा कञ्चनरुप नगरपालिका–६ का जनमत पार्टीका वडा संयोजक मोहम्मद ताहिर मियाँ, वडा सचिव मोहम्मद गुलाब सिद्वकीसहितका स्थानीय नेता–कार्यकर्ताले पनि जसपाको सदस्यता ग्रहण गरेका छन्।
नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई जसपा उपाध्यक्ष एवम् महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह, जसपाका नेता तथा कञ्चनरुप नगरपालिकाका मेयर पदका उम्मेदवार भोला पासवान, तथा युवा नेता एवम् समाजसेवी सुमित साहले संयुक्त रूपमा टीका र गम्छाले स्वागत गरेका थिए।
जसपामा प्रवेश गरेका नेताहरूले यसअघि विभिन्न दलमा रहेर गरेका संघर्ष अब जसपामार्फत संस्थागत हुने विश्वास व्यक्त गर्दै मधेशको अधिकार र समावेशी राजनीतिका लागि सक्रिय रहने प्रतिवद्धता जनाए।