ई-मधेश न्युज
सत्य, शान्ति र न्यायको मार्गमा अघि बढ्न उपराष्ट्रपति यादवको आह्वान
लिलाकान्त यादव,
काठमाडौं, ३१ साउन ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सम्पूर्ण नेपालीलाई सत्य, शान्ति, न्याय, प्रेम र समृद्धिको मार्गमा अघि बढ्न आह्वान गर्नुभएको छ।
शनिबार काठमाडौंको ठमेलस्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको ‘श्रीकृष्णाष्टमी तथा चैतन्य झाँकी अनावरण एवं प्रवचन’ कार्यक्रममा सम्बोधन गर्दै उहाँले श्रीकृष्णको जीवनलाई धार्मिक आस्थासँग मात्र सीमित नराखी गहिरो आध्यात्मिक ज्ञान र प्रेरणाको स्रोतका रूपमा लिनुपर्नेमा जोड दिनुभयो।
उहाँका अनुसार अर्जुनका सारथी बनेर श्रीकृष्णले प्रस्तुत गर्नुभएको सेवा भाव नेतृत्व केवल शक्ति होइन, सेवा पनि हो भन्ने उच्चतम उदाहरण हो। श्रीकृष्णको बाँसुरीको धुन प्रेम, सौन्दर्य र आध्यात्मिक आनन्दको प्रतीक भएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले उहाँको जीवनकथाले नैतिक मूल्य, करुणा र दायित्वबोधलाई व्यवहारमा उतार्न सन्देश दिने बताउनुभयो।
‘श्रीकृष्णको कर्मयोगले व्यक्ति र समाजलाई कर्मशील, उत्तरदायी र विवेकी बनाउने सूत्र प्रदान गर्दछ,’ उहाँले भन्नुभयो, ‘यी सूत्र आत्मसात गर्न सके समाजमा सद्भाव, सांस्कृतिक समृद्धि र जीवनको सार्थकता प्राप्त गर्न सकिन्छ।’
कार्यक्रममा उहाँले ब्रह्माकुमारी संस्थाले नेपाली समाजमा शान्ति, सद्भाव र आध्यात्मिक चेतना फैलाउन पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै धन्यवाद पनि व्यक्त गर्नुभयो।