ई-मधेश न्युज
उपराष्ट्रपति यादवद्वारा श्रीकृष्ण जन्माष्टमी, २०८२ को शुभकामना सन्देश
लिलाकान्त यादव,
काठमाडौं, ३१ साउन ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले श्रीकृष्ण जन्माष्टमी, २०८२ को अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि मंगलमय शुभकामना व्यक्त गरेका छन्।
उनले श्रीकृष्ण जन्माष्टमी केवल धार्मिक पर्व मात्र नभई धर्म, न्याय, प्रेम र कर्मयोगको प्रतीक भएको उल्लेख गर्दै भगवान श्रीकृष्णको जीवन र गीता उपदेशमा आधारित योगमार्गहरू आज पनि जीवनका प्रत्येक मोडमा मार्गदर्शक रहेको बताए।
उपराष्ट्रपति यादवका अनुसार नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक परम्पराले यस पर्वलाई सामाजिक एकता, सांस्कृतिक समरसता र आध्यात्मिक चेतनाको प्रतीक बनाएको छ। उनले झाँकी, भजन–कीर्तन, कृष्णलीला, उपवास तथा सामूहिक पूजा–आराधनाले आत्मशुद्धि र भातृत्व वृद्धिमा योगदान पु¥याउने विश्वास व्यक्त गरे।
सन्देशमार्फत उनले श्रीकृष्णको बाललीला, गोवर्धन धारण र गीता उपदेशले धर्मको पुनस्र्थापना र अधर्मको विनाशको सन्देश दिने उल्लेख गर्दै सत्य, करुणा र समत्वको मार्गमा अग्रसर हुन सबैलाई प्रेरित गर्ने बताए।
उपराष्ट्रपति यादवले भगवान श्रीकृष्णको आदर्श र शिक्षाले समाजलाई समरसता, समावेशिता र धर्ममाथि अडिग रहन प्रेरित गर्ने बताउँदै सभ्य, सुसंस्कृत र समुन्नत समाज निर्माणमा यस पर्वले मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे।