ई-मधेश न्युज
शिक्षा सुधारका लागि सबै गम्भीर बन्नु जरुरी: मधेश प्रदेशका मुख्यमन्त्री
लिलाकान्त यादव,
राजविराज, २७ साउन ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूकै कारण मधेशको शिक्षा प्रभावित भइरहेको आरोप लगाउनुभएको छ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलबार राजविराजमा सप्तरी युथले आयोजना गरेको सम्मेलनलाई सम्बोधन गर्दै उहाँले करार तथा निजी श्रोतका नाममा आफ्ना परिवार वा नातागोता भर्ति गर्ने प्रवृत्तिले शिक्षण प्रक्रिया कमजोर बनेको बताउनुभयो। यसमा लामो समयदेखि शिक्षक नियुक्ति प्रक्रिया बन्द हुनु र परीक्षा अमर्यादित हुनु पनि कारक रहेको उहाँको भनाइ थियो।
मुख्यमन्त्री सिंहका अनुसार शिक्षा बिना युवाको प्रगति सम्भव छैन, त्यसैले भरपर्दो शिक्षा सुनिश्चित गर्न सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिनुभयो। उहाँले योग्य शिक्षा प्राप्त गरेपछि मात्र मधेसी युवाले सरकारी सेवामा सशक्त प्रवेश पाउने उल्लेख गर्दै विद्यार्थीहरूलाई लगनशील हुन आग्रह गर्नुभयो।
अर्को प्रसंगमा उहाँले ७५३ स्थानीय तहका प्रमुखहरू प्रधानमन्त्री र मुख्यमन्त्रीभन्दा बढी शक्तिशाली भएको भन्दै, पाँच वर्षसम्म जनताका मागअनुसार विकासमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो। संघीयतापछि मधेशमा सडक निर्माणदेखि एमबीबीएस अध्ययन र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालासम्मका उल्लेखनीय उपलब्धि भएको पनि उहाँले स्मरण गर्नुभयो।