emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

राजगढ घटनाको छानबिन र दोषीमाथि कारबाहीको समाजवादी विद्यार्थी युनियनको माग

source e-Madhesh २०८२ श्रावण २५ गते , आइतबार
0
Shares
23
Views
राजगढ घटनाको छानबिन र दोषीमाथि कारबाहीको समाजवादी विद्यार्थी युनियनको माग

लिलाकान्त यादव,
राजविराज २५ साउन ।
जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन नेपाल केन्द्रीय समितिले राजगढ घटनाको छानबिन गरि दोषीमाथि कडा कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ । केन्द्रीय अध्यक्ष मनिष कुमार यादवले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सप्तरीको राजगढ–२ कमलपुरका लालु प्रसाद यादवको हत्यारालाई तुरुन्त कानूनी दायरामा ल्याउन आग्रह गरेका हुन् ।
प्रहरीले नै गोली प्रहार गरेर यादवको हत्या गरेको आरोप लगाउँदै युनियनले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घोर निन्दा गरेको छ ।
‘सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुर निवासी ३६ वर्षीय लालुप्रसाद यादवको मंगलबार राति प्रहरीले गोली प्रहार गरी हत्या गरेको दुःखद एवं घोर निन्दनीय कार्य गरेको छ,’ अध्यक्ष यादवद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यस हत्याप्रति समाजवादी विद्यार्थी युनियन, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।’
राजगढ घटना कानूनी शासन र मानवअधिकारविरोधी रहेको उल्लेख गर्दै विज्ञप्तिमा यसले राज्य संयन्त्रमाथि अविश्वास बढाएको टिप्पणी गरिएको छ ।
‘स्वर्गीय यादव श्री खुवलाल जगर्नथ शक्ति आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष मात्र नभई सामाजिक कार्यमा क्रियाशील व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो,’ विज्ञप्तिमा भनिएको छ, ‘तथापि स्थानीय प्रहरी प्रशासनले नियमनको नाममा गुण्डा र दमनकारी शैलीमा नियन्त्रणमा लिने क्रममा उहाँलाई गोली प्रहार गरी ज्यान लिएको घटनाले सम्पूर्ण मानवअधिकार, न्याय प्रक्रिया र संयन्त्रको चरित्रमाथि गम्भीर प्रश्न उब्जाएको छ ।’
विद्यार्थी युनियनले शान्तिपूर्ण तरिकाले समाधान गर्न सकिने अवस्थामा पनि बल प्रयोग गर्नु अमानवीय र गैरकानूनी भएको ठहर गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीले नियन्त्रणमा लिनका लागि विभिन्न उपायहरू हुँदाहुँदै गोली प्रहार गर्नु शक्तिको दुरुपयोगको ज्वलन्त उदाहरण हो । यसले संविधान प्रदत्त नागरिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रत्यक्ष प्रहार गरेको छ ।’
युनियनले यस घटनाको यथाशिघ्र छानबिन गरी दोषी प्रहरीलाई कडाभन्दा कडा कारबाही गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न र न्यायिक प्रक्रियालाई पारदर्शी बनाउन आग्रह गरेको छ । साथै, यस्ता घटनाबाट सुरक्षा निकायप्रति नागरिकको विश्वास गुम्ने भएकाले सरकार र सम्बन्धित निकायलाई जिम्मेवार व्यवहार अपनाउन चेतावनी दिएको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार