ई-मधेश न्युज
विश्व आदिवासी दिवसमा प्रविधि र अधिकार संरक्षणको जोड
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौँ, २५ साउन ।
३१औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजित विशेष मूल समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआई (आर्टिफिसियल इन्टेलिजेन्स)को सही प्रयोगले भविष्यको दिशा तय गर्ने बताएका छन्। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले आदिवासी जनजातिले अधिकारका धेरै उपलब्धि हासिल गरे पनि अझै केही अधिकार पाउन बाँकी रहेको उल्लेख गरे।
उनले मातृभाषाको संरक्षण, स्वशासन अधिकारको सुदृढीकरण र सांस्कृतिक पहिचान जोगाउन जोड दिए। साथै, छोराछोरीलाई मातृभाषा सिकाउने र अन्तर्राष्ट्रिय मञ्चमा स्पष्ट रूपमा आफ्नो माग राख्नुपर्नेमा बल दिए।
कार्यक्रममा नेफिन अध्यक्ष गेल्जे लामा शेर्पाले ठूला आयोजनाका कारण आदिवासी समुदाय विस्थापित भइरहेको भन्दै भूमि, जल र वनस्रोतमा अधिकार सुनिश्चित गर्न आग्रह गरे। कार्यक्रममा पूर्वमन्त्री, सांसद, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो भने चुननुब्री गाउँपालिका र आदिवासी वकिलहरूको समूहलाई विशेष सम्मान प्रदान गरिएको थियो।
यस वर्षको नारा थियो — “प्राकृतिक स्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर।”