ई-मधेश न्युज
उपराष्ट्रपतिबाट रक्षाबन्धन, जनै पूर्णिमा र गुंःपुन्हिको शुभकामना
लिलाकान्त यादव, काठमाडौं, २४ साउन । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) तथा नेवार समुदायको गुंःपुन्हिको अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्। शनिबार जारी सन्देशमा उनले यी पर्वहरूले आपसी प्रेम, सम्मान, एकता, सौहार्द र सहयोगको सन्देश फैलाउने गरेको बताए। यादवका अनुसार तराई–मधेशमा दिदीबहिनीले राखी बाँधेर दाजुभाइको दीर्घायु र समृद्धिको कामना गर्ने तथा दाजुभाइले दिदीबहिनीप्रति संरक्षणको भावना व्यक्त गर्ने परम्परा रहिआएको छ। जनै पूर्णिमा मनाउनेहरुले यज्ञोपवीत परिवर्तन, ऋषिपूजन र तर्पण गरेर भव्यताका साथ पर्व मनाउने र नेवार समुदायले गुंःपुन्हिमा क्वाँटी खाने, धार्मिक अनुष्ठान गर्ने र पारिवारिक स्वास्थ्य तथा समृद्धिको कामना गर्ने गरेको उल्लेख छ। उपराष्ट्रपतिले परम्परागत यी पर्वहरूले बदलिँदो जीवनशैली र डिजिटल युगमा आत्मीयता र सांस्कृतिक महत्वलाई मजबुत बनाउन सहयोग पुर्याइरहेको विश्वास व्यक्त गरे। उनले राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकता अझ बलियो होस् र सबैको जीवनमा शान्ति, समृद्धि तथा प्रगति कायम होस् भनी शुभकामना दिएका छन्।