ई-मधेश न्युज
सप्तरीमा मोटर चलाउने क्रममा करेन्ट लागी किसानको मृत्यु
लिलाकान्त यादव,
राजविराज, २३ साउन ।
सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा करेन्ट लागी एक किसानको ज्यान गएको छ। खेतमा पानी पटाउनका लागि विद्युत मोटर चलाउने क्रममा आज बिहान करिब ५ बजे करेन्ट लाग्दा ४२ वर्षीय शम्भु ईशरको घटनास्थलमै मृत्यु भएको हो।
रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवका अनुसार मृतक ईशर गाउँमै कुटानी–पिसानी र तेल पेल्ने मिल सञ्चालन गर्दै आएका थिए। उनी खेतमा पानी पटाउने तयारी गर्दै मोटर जडान गर्ने क्रममा अचानक करेन्टको चपेटामा परेका थिए।
स्थानीय किसानहरू सिँचाइ सुविधा नहुँदा विद्युत मोटर प्रयोग गर्न बाध्य छन्। तर, कृषि मिटर लिएकाले पनि नाङ्गो तारमा हुकिङ्ग गर्ने, पावर सकेटको प्रयोग नगरी सिधै नाङ्गो जडान गर्ने, र सुरक्षा मापदण्डको पालना नगर्ने प्रचलनका कारण यसअघि पनि पटक–पटक दुर्घटना हुने गरेको स्थानीयले बताएका छन्।
विद्युत प्राधिकरणका अनुसार यस्ता घटनाबाट बच्न सुरक्षित उपकरण प्रयोग, उचित जडान, र भिजेको अवस्थामा विद्युतीय सामग्री नछोनेजस्ता सावधानी अनिवार्य मान्नुपर्ने हुन्छ। तर, ग्रामीण क्षेत्रमा सचेतना र प्राविधिक सहुलियतको कमीले दुर्घटनाको जोखिम अझै उच्च रहेको छ।