ई-मधेश न्युज
राजगढमा प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, उच्चस्तरीय छानबिनको माग
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, २२ साउन ।
सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति प्रहरीको गोली लागेर ३६ वर्षीय लालु यादवको मृत्यु भएको छ। घटनाप्रति नेपाल–भारत खुला सीमा संवाद समूहले गम्भीर ध्यानाकर्षण जनाउँदै दोषी प्रहरीमाथि कारबाही र उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको छ।
संवाद समूहका जिल्ला अध्यक्ष गजेन्द्र मण्डलले विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका छन्। उनका अनुसार मृतक यादव श्री खुवलाल जगन्नाथ शक्ति आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा कानुनी रूपमा मदिरा व्यवसाय सञ्चालन गर्दै आएका थिए।
मण्डलले शान्तिपूर्ण तवरले समाधान गर्न सकिने अवस्थामा पनि प्रहरीद्वारा गोली प्रहार गर्नु ‘शक्ति दुरुपयोगको ज्वलन्त उदाहरण’ भएको टिप्पणी गरेका छन्। विज्ञप्तिमा पीडित परिवारलाई क्षतिपूर्ति, सुरक्षा र न्याय सुनिश्चित गर्न आग्रह गर्दै यस्तो घटना सीमावर्ती क्षेत्रमा असन्तोष र अस्थिरता निम्त्याउने चेतावनी दिइएको छ।