ई-मधेश न्युज
सरकारी विद्यालयका विद्यार्थीलाई इन्जिनियरिङ अध्ययनमा छात्रवृत्तिको सुनौलो अवसर
लिलाकान्त यादव,
काठमाडौं, २२ साउन ।
नेपाल इन्जिनियरिङ कलेज (नेक) ले शैक्षिक सत्र २०८२÷८३ का लागि आर्थिक रूपले कमजोर तथा सरकारी विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूलाई लक्षित गरी विशेष छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको छ।
कलेजले मुलुकका सातवटै प्रदेशबाट एक÷एक जना गरी सात जना विद्यार्थीलाई १०० प्रतिशत शुल्क छुटसहित पूर्ण छात्रवृत्ति दिने बताएको छ। साथै, पहिलो पटक सरकारी सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गर्दै छुट्टै “समुदाय छात्रवृत्ति” समेत घोषणा गरिएको हो।
कलेजका संयोजक रुपेश दही श्रेष्ठका अनुसार, यो छात्रवृत्ति योजना सामाजिक समावेशिता र समान अवसरको प्रवद्र्धनमा केन्द्रित रहेको छ। “प्रदेश र समुदाय छात्रवृत्ति कलेजको सामाजिक उत्तरदायित्व अन्तर्गत ल्याइएको हो,” श्रेष्ठले बताए।
छात्रवृत्तिका लागि एसईई र प्लस टु मा उत्कृष्ट अंक प्राप्त गर्ने, आर्थिक रूपमा विपन्न तथा इन्जिनियरिङ अध्ययनमा गहिरो रुचि भएका विद्यार्थीहरूलाई प्राथमिकता दिइनेछ। आवेदन दिने इच्छुकले आवश्यक कागजात र विवरण कलेजको वेबसाइट वा प्रशासनिक कार्यालयमार्फत प्राप्त गर्न सक्नेछन्।
कलेजका प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले नाफा नलिने उद्देश्यले सञ्चालनमा रहेको यस संस्थाले देशभर गुणस्तरीय इन्जिनियर उत्पादनका लागि छात्रवृत्तिमार्फत अवसरहरू प्रदान गर्दै आएको बताए। “शान्त वातावरणमा, अनुभवी शिक्षकसहितको अध्यापन, अत्याधुनिक ल्याब, पुस्तकालय, अनुसन्धान सुविधा र सर्वसुलभ शुल्क संरचना कलेजको विशेषता हो,” उनले भने।
पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त नेकले सिभिल, कम्प्युटर, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, सूचना तथा सञ्चार, आर्किटेक्चर लगायतका सात इन्जिनियरिङ कार्यक्रम सञ्चालनमा ल्याएको छ। कलेज भक्तपुरको चाँगुनारायण नगरपालिका, दुवाकोटमा अवस्थित छ।