ई-मधेश न्युज
पार्टी फुटको हल्ला निराधार, तेस्रो जनआन्दोलनको तयारीमा छौंः बास्तोला
ईमधेश न्युज सम्वाददाता,
काठमाडौं, २० साउन ।
नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले पार्टी फुटको हल्लालाई निराधार बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीभित्र बहस, छलफल स्वाभाविक प्रक्रिया भएको र त्यसलाई फुटतिर मोड्न खोजिएको आरोप लगाए।
पार्टीको नवौं केन्द्रीय समितिको तेस्रो बैठकले भ्रष्टाचार र कुशासनविरुद्ध संघर्षलाई तीव्र बनाउने निर्णय गरेको जानकारी उनले दिए। बास्तोलाले संसदवादी दलहरू स्वार्थमा लिप्त भएको र त्यसले राष्ट्रिय स्वाधीनतामाथि खतरा उत्पन्न गरेको बताए।
“देशको वर्तमान राजनीतिक अन्योल अन्त्य गरी स्वाधीन संयुक्त सरकार गठनका लागि तेस्रो जनआन्दोलन अपरिहार्य भएको निष्कर्षमा बैठक पुगेको छ,” उनले भने।
संगठनभित्रको कारबाहीबारे बास्तोलाले जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार निर्णय लिइएको र सो कारबाही फिर्ता भइसकेको जानकारी दिए।
उनले अमेरिका लगायत साम्राज्यवादी शक्तिहरूले युद्ध थोपरेको आरोप लगाउँदै उत्पीडित राष्ट्रहरूलाई प्रतिवाद गर्न आह्वान गरे।