ई-मधेश न्युज
३१औं विश्व आदिवासी दिवस सप्ताहव्यापी रूपमा मनाउने नेफिनको तयारी
ईमधेश न्युज सम्वाददाता,
काठमाडौं, १९ साउन ।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले आउँदो श्रावण २४ गते (अगष्ट ९) का दिन पर्ने ३१औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसलाई भव्य रूपमा मनाउने भएको छ। ‘प्राकृतिक श्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, युएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर’ भन्ने नारासहित नेफिनले साप्ताहव्यापी कार्यक्रम गर्ने तयारी गरेको हो।
नेफिनले भव्य र्याली, झाँकी, संस्कृति र खाद्य परिकार प्रदर्शन, अन्तरसंवाद तथा बहस कार्यक्रम लगायत विविध गतिविधिमार्फत दिवसलाई उत्सवको रूपमा मनाउने तयारी गरेको छ। भृकुटीमण्डपबाट सुरु हुने ५ हजार जनाको झाँकीसहितको र्याली राजधानीका विभिन्न स्थान परिक्रमा गर्दै राष्ट्रिय सभागृह पुग्नेछ। समारोहमा संवैधानिक निकायका प्रमुखहरू, सांसदहरू, पार्टी प्रतिनिधिहरू, पूर्व अध्यक्षहरू, विशिष्ट व्यक्तित्व तथा विविध संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहनेछ।
महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी जनजातिको मौलिक अधिकार, पहिचान, ज्ञान, थलो र संस्कृतिको प्रवर्धन, तथा समानुपातिक सहभागिता सुनिश्चित गर्ने लक्ष्यका साथ दिवस मनाउने बताए। साप्ताहव्यापी कार्यक्रम अन्तर्गत श्रावण १७ देखि २८ गतेसम्म महिला, युवा, अपांग, पत्रकार, विद्यार्थी महासंघलगायत अंग संस्थाहरूका छुट्टाछुट्टै कार्यक्रमहरू तय गरिएका छन्।
बागमती प्रदेशमा तामाङ र नेपाल भाषा, गण्डकीमा मगर र गुरुङ भाषालाई मान्यता दिइएपछि, मातृभाषा र पहिचानका सवालमा यस्ता उत्सवहरूले बहस र जागरूकता ल्याउने अपेक्षा गरिएको छ। राष्ट्रिय सभागृहबाहिर समेत प्रत्यक्ष प्रसारणका साथ कार्यक्रमलाई ऐतिहासिक बनाउने तयारी नेफिनले गरिरहेको छ।