ई-मधेश न्युज
महिला समानता र अधिकार प्रवद्र्धनमा नेपालको उल्लेखनीय प्रगति: मन्त्री साह
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १५ साउन ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नेपालले महिला अधिकार र लैंगिक समानताको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताएका छन्। बिहीबार राजधानीमा आयोजित ‘नेपालले सिड रिपोर्टमा के पठाउँदै छ?’ विषयक छलफल कार्यक्रममा उनले नेपालको संविधान तथा सरकारी प्रयासले महिला–पुरुषबीच समानता सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।
मन्त्री साहका अनुसार मन्त्रालयले दुईवटा समिति गठन गरेको छ, जसमा सिडको सेन्ट्रल कमिटीमा २३ सदस्यमध्ये एकजना नेपाली प्रतिनिधिको सहभागिता रहेको छ। उनले मधेस प्रदेशमा महिलाका लागि ५० प्रतिशत आरक्षण लोकसेवा आयोगमार्फत लागू गरिएको पनि बताए।
कार्यक्रममा महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले कानुन निर्माण भए पनि कार्यान्वयन पक्ष अझै कमजोर रहेको बताए। उनले छाउपडी प्रथा जस्ता सामाजिक विकृति अन्त्य गर्न प्रभावकारी नीति र कार्यक्रम आवश्यक रहेको बताए।
सांसदहरूले पनि सिड रिपोर्टमार्फत अन्तर्राष्ट्रिय समुदायसामु नेपालको प्रतिबद्धता मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।