ई-मधेश न्युज
नेपाल इन्जिनियरिङ कलेजमा एसियन पेन्ट्स नेपाल क्यालिडोस्कोपको १३औं संस्करण हुँदै
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १५ साउन ।
चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) मा एसियन पेन्ट्स नेपाल क्यालिडोस्कोपको १३औं संस्करण आयोजना हुने भएको छ। कलेजको आर्किटेक्चर विभागले उक्त प्रतियोगितामा सहभागी हुन आर्किटेक्चर २०२० ब्याचका विद्यार्थीहरूलाई आह्वान गरेको छ।
प्रतियोगिताका लागि विद्यार्थीहरूलाई आवश्यक कार्यादेश र अवधारणा दिइएको छ, जसअनुसार उनीहरूले अगस्ट महिनाको अन्त्यसम्म अवधारणा पेश गर्नु पर्नेछ। विभागकी सहायक प्राध्यापक स्वेता अमात्यका अनुसार विद्यार्थीहरूले अवधारणासहित फिल्ड भिजिट र डिजाइन तयार गर्नेछन्। यस पटक कलेजस्तरबाट उत्कृष्ट तीन डिजाइनहरू मात्र राष्ट्रिय प्रतियोगितामा छनोट गरिने व्यवस्था गरिएको छ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूबाट उत्कृष्ट डिजाइनहरू छनोट गरि नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। गत वर्षको संस्करणमा कलेजकी छात्रा पूजा राईले ५० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र जितेकी थिइन्।
आर्किटेक्चर विभाग प्रमुख दीपक पन्तका अनुसार प्रतियोगिता विद्यार्थीहरूको सिर्जनशीलता तथा सीप उजागर गर्ने अवसर हो। राष्ट्रिय चरणमा देशभरका १२ कलेजहरूबीच प्रतिस्पर्धा हुनेछ। कलेज सन् २०१२ देखि एसियन पेन्ट्ससँग आबद्ध छ।