ई-मधेश न्युज
सप्तरीमा जसपा नेपालको प्रथम जिल्ला अधिवेशन सुरु, उपेन्द्र यादवबाट उद्घाटन
लिलाकान्त यादव,
राजविराज, १४ साउन ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) को सप्तरी जिल्ला कार्यसमितिको प्रथम एकता अधिवेशन आज राजविराजस्थित विशेष सभास्थलमा भव्य रूपमा सुरु भएको छ। अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले गर्नुभएको हो।
उक्त अधिवेशनमा पार्टीका केन्द्रीय, प्रदेशस्तरीय नेताहरू, प्रतिनिधिहरू, विभिन्न पालिकाका नेता तथा स्थानीय कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको छ।
अध्यक्ष यादवले चूरे क्षेत्रको संरक्षणमा सरकार उदासिन रहेको आरोप लगाउँदै भन्नुभयो, “चूरेको संरक्षणका लागि अर्बौं वैदेशिक सहायता आउँछ, तर सरकारले अझै सडक निर्माण र होटल खोल्न अनुमति दिँदै चूरे विनाश गरिरहेको छ।” उनले वातावरण संरक्षणमा अब ढिलाइ गर्न नहुने स्पष्ट पारे।
त्यस्तै, मधेशको जंगल फँडानी गरेर पुनर्वास कम्पनीमार्फत हदबन्दीका नाममा मधेसीहरूलाई आफ्नै भूमिमा अल्पसंख्यक बनाइएको गुनासो पनि अध्यक्ष यादवले उठाउनुभयो।
अधिवेशनले आगामी कार्ययोजना, सांगठनिक सुदृढीकरण, स्थानीय संरचना विस्तार र नेतृत्व चयनका विषयमा गम्भीर छलफल गर्ने अपेक्षा गरिएको छ।