ई-मधेश न्युज
ह्युम पाइप स्थानान्तरण प्रकरणमा स्थानीय आक्रोशित, संघर्षका कार्यक्रम घोषणा
लिलाकान्त यादव,
काठमाडौँ, १३ साउन ।
हनुमाननगर कंकालिनी नगरपालिका–मधवापुरमा सार्वजनिक प्रयोजनका लागि राखिएको ठूलो ह्युम पाइप वडा अध्यक्षको आदेशमा अन्यत्र स्थानान्तरण गरिएको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका छन्। करिब तीन दशकअघि तत्कालीन जनप्रतिनिधिको पहलमा बाढी व्यवस्थापनका लागि खरिद गरिएको सो पाइप गायब भएपछि स्थानीयले कडा आपत्ति जनाउँदै विरोधका कार्यक्रम घोषणा गरेका हुन्।
स्थानीयको बैठकले साउन १० गतेदेखि ७ दिनभित्र स्पष्ट जवाफ नआए थप संघर्षका कार्यक्रम गर्ने चेतावनी दिएको छ। बैठकमा वडा अध्यक्षलाई पटकपटक उपस्थितिका लागि अनुरोध गरिए पनि अटेर गरिएको भन्दै गम्भीर ध्यानाकर्षण गराइएको छ।
बैठकले तीन बुँदे माग अघि सारेको छ जसमा ह्युम पाइप सार्वजनिक गरिनुपने, विगत ३ वर्षको योजना तथा बजेट विवरण सार्वजनिक गरिनुपर्ने र पानी निकास तथा नाला सरसफाइको व्यवस्था गरिनुपर्ने जस्ता माँग राखेका छन् ।
यस प्रकरणमा वडा कार्यालय र जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापनपत्र समेत बुझाइएको छ। स्थानीयले निष्कर्षमा स्पष्ट जवाफ नआएमा ताला बन्दी लगायत थप संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन्।