ई-मधेश न्युज
सप्तरीमा एकैदिन युवक र महिला मृत फेला, आत्महत्याको आशंका
लिलाकान्त यादव,
राजविराज, ०३ साउन ।
सप्तरी जिल्लाका दुई फरक स्थानमा शनिबार एक युवक र एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेका छन्, जसले स्थानीयबासीलाई स्तब्ध बनाएको छ।
अग्निसाइर वृष्णासवरण गाउँपालिका–४, बनौलीका १९ वर्षीय अरविन्द साह नजिकैको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। स्थानीयले शव देखेपछि इलाका प्रहरी कार्यालय कञ्चनपुरलाई जानकारी दिएका थिए। इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार घटनास्थलको प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज पठाइएको छ।
उक्त दिनमै अर्को घटना राजविराज नगरपालिका–८ स्थित हिमालय टोलमा भएको छ। २९ वर्षीया रितु पौडेल आफ्नै कोठामा सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, किसानपुर स्थायी घर भएकी पौडेल राजविराजमा कृष्ण पोखरेलको घरमा डेरा लिएर बस्दै आएकी थिइन्।
दुवै घटनाको कारण खुलेको छैन भने प्रहरी स्रोतका अनुसार घटनालाई आत्महत्याको आशंका गरिएको छ।